बच्चा र पर्चा बोकेर राणाविरुद्ध लड्ने शाहसी महिला


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

महिलाले जन्माएको छोराले संसार चलाउन हुने तर उसैलाई जन्म दिने आमाले किन भोट दिन नपाउने भनेर प्रश्न गरौं । पद्मशमसेर बोलेनन् ।

स्नेहलता वन (श्रेष्ठ)

काठमाडौ । देशमा विधानसभाका लागि बहस र विरोध चलिरहेको बेला २००५ सालमा राणाहरूले पर्चा बाड्नेहरूलाई घर गल्ली चोक, चोकबाट गिरफ्तार गर्ने र अमानविय ढंगले यातना दिन थाले । सामान्य मान्छे मात्र होइन राणाहरूले गर्भवती अवस्थाका महिलालाई समेत छाडेनन् । राणाहरूका विरुद्ध पर्चा बाड्ने महिला हिरादेवी यमिको छोरा जेलमा नै जन्मिएको थियो ।

त्यो बेला राणाहरूले सर्बसाधारणलाई जहाँ भेट्यो त्यहीबाट गिरफ्तार गर्ने, कोर्रा लगाउने, यातना दिने, भालाले छप्काउने, र गोली समेत हान्ने गर्दथे । त्यो बेलाको घटना भनीसाध्य छैन बिनाकारण थुप्रै मान्छे मारिए ।

गोपनियता भंग नगरेका कारण त्यो बेला थुप्रै जनताले अमानविय यातना पाए, थुप्रै मारिए । गोपनियता नखोलेकै कारण थुपै्र मान्छेलाई भेडा बाख्रा जस्तै जिउदै काट्थे । राणा विरुद्धको आन्दोलनमा यो पार्टी र ऊ पार्टी भनेर हामीले कहिल्यै झगडा गरेनौँ । हामीले राणाको अन्त्य कसरी गर्ने भन्ने विषयमा मात्र ध्यान केन्द्रित गरेका थियाँै । हामी सबै एकताबद्ध भएर लड्यौँ फलस्वरुप राणालाई फाल्न सफल भएका थियौँ । हिजो राणाविरुद्धको आन्दोलनमा हामी जति सकृय भएर लाग्यौ, प्रजातन्त्र ल्याउनका लागि जुन भूमिका खेल्यौँ, अहिले त्यसको कदर भएको छैन ।

राण विरुद्ध छापिएका पर्चा आएपछि बैठक बसेर कार्य विभाजन गर्दथ्यौँ । नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंह हुनुहुन्थ्यो । बैठकमा हामीसंग भएका पर्चा कुन क्षेत्रमा कस्ले बाड्ने भनेर कार्यक्षेत्र छुट्यायौँ । अध्यक्ष मंगलादेवीले आफू काजीको बुहारी भएकाले घरबाट निस्कन नहुँने भन्दै पर्चा छर्ने काम नगर्ने भइन । अध्यक्षले नगरेपछि हामी पनि त्यसै बस्ने कुरा त भएन । त्यसपछि हाम्रो कोषाध्यक्ष श्रीमाया श्रेष्ठको नेतृत्वमा पर्चा बाड्ने भयौं ।

श्रीमायाको घर टेंगलदेखि लिएर क्षेत्रपार्टी, पकनाजोल, बालाजु, ठमेल, राजदरबार, लगायतको क्षेत्र उहाँलाई पर्यो । यसैगरी हिरादेवीलाई चाहि काठमाडौंको मरुधारादेखी भीमसेनथान, छाउनी, ताहाचल, कलंकी, सिंहदरबार, थापाथली हुँदै पाटनसम्म पर्यो । यी सबै ठाउँमा हिरादेवी पिठ्युमा बच्चा बोकेर हिड्ने गर्थिन र मेरो चाहि असन, टुंडिखेल, घ्यालसिंह, भोटाहिटी, गणेशस्थान लगायतका ठाउँमा जिम्मा पर्यो । यसरी हामीले आफ्नो कार्यक्षेत्र विभाजन गर्यौ ।

पर्चामा सरकारी निकायका कर्मचारी पियनदेखी खरदारसम्मको तलब, बजारको महंगी उसको परिवार संख्या अनुसार उसलाई तलबले जीवन धान्न नपुगेको कुरा उल्लेख थियो । सरकारी निकायका तल्लो तहका सिपाही र कर्मचारीलाई सम्बोधन गरीएको त्यस पर्चाले सरकारी निकायका कर्मचारीको ध्यान निकै तान्थ्यो ।

हामीले एउटा पर्चा छरीनसक्दै अर्को पर्चा आइपुग्थ्यो । हामीले छरेका पर्चाका बारेमा अधिकांस सरकारी कार्यलयमा चर्चा चल्ने गथ्र्यो । किनकी त्यसमा उनीहरूको पक्षमा कुरा उठाइएको हुन्थ्यो । विक्रम सम्बत २००५ सालभरी नै हामीले पर्चा छर्यौँ । पछि २००६ सालमा आएर बल्ल कर्मचारीहरूको तलब बृद्धि भयो ।

यस्तैगरी २००७ सालको आन्दोलनमा पनि हामीले राणाका विरुद्ध पम्पलेट छर्यौँ । त्यतिखेर राणाहरूले थाहा नपाउने भनेर मदनलोचनले भारी बोकेको जस्तो गरी हिड्ने र बाटोमा पर्चा छर्ने पम्पलेट टास्ने गर्थे भने अर्जुन नरसिह रानाले चाही गुच्चा खेलेजस्तै गर्ने अनि कुन ठाउँ पुग्नुपर्ने हो पुगेर चिठी पत्र दिने वा पम्पेल्ट पुर्याइदिने गर्दथे । त्यतिखेर हामीहरू राणहरूले कामको सुइको नपाओस् भनेर विभिन्न खालका बहाना गरी आफ्नो काम सम्पन्न गर्थ्यौँ । म्हैपीमा भएको भेलाले गरेको निर्णय अनुसार २००४ सालमा महिला संघको गठन भएको हो ।

?

महिला संघको गठनपछि बसेको बैठकले जिम्मेवारीको बाँडेफाँड गर्यो । त्यसमा हिरादेवी यमिले भूमिगत नेताहरूको हेरचाह गर्ने र साथमा किसान संगठनलाई सहयोग गर्ने रहेको थियो । यस्तै टंकबिलास बज्राचार्यकी श्रीमती चम्पादेवी बज्राचार्यलाई जेल सम्बन्धी जिम्मेवारी दिइएको थियो । राणा विरोधी आन्दोलनले गति लिदैँ जादा गाउँगाउँबाट र टाढाटाढाबाट गिरफ्तार गरी ल्याइएका राजनीतिक बन्दीलाई महिला संघले गरेको गतिविधिका बारेमा जानकारी दिने साथै चिठी पुर्याउने जिम्मेवारी दिईएको थियो ।

यस्तै कोषाध्यक्ष श्रीमाया श्रेष्ठलाई कार्यलय तथा नेता र कार्यकर्ताको बारेमा ध्यान दिनुपर्ने जिम्मेवारी थियो । टंकप्रसाद आचार्यकी श्रीमती रेवन्तकुमारी आचार्यलाई विदेश विभागको जिम्मा दिइएको थियो । शान्ता श्रेष्ठ त्यतिबेलाको एकदमै जुझारू कार्यकर्ता हुन ्। उनले त्यस बेला तिन जनाले गर्ने काम एक्लै गर्थिन । उनले आफूलाई दिएको जिम्मा कहिल्यै अधुरो छाडिनन् सधै पूरा गर्थिन ।

ऊ बेला हामी इन्कलाव जिन्दावाद, नागरिक अधिकार ल्याई छाड्छौ, मर्न मेट्न तयार छौ, गोलीदेखी डराउँदैनौ जस्ता नारा लगाउथ्यौँ । त्यतिबेला दुई तिन जनाको समूहमा जुलुश निस्कन्थ्यो । यसै क्रममा एकपटक  काठमाडौंका विभिन्न ठाउँबाट निस्केको जुलुश नक्साल पुगेको थियो । राणाहरूले हामीलाई गिरफ्तार गरे । त्यसपछि सातदिन राखेर हामीलाई छाडियो । हामीलाई पदमशमशेरको दरबारमा बयान लिइएको थियो । आइमाइहरूलाई के को चासो ? किन चाहियो यो सब भनेर नरशमसेर चिच्याएका थिए । हामीलाई त जन्मजातै राजद्रोही भन्थे । त्यो बेला हामीले भद्रगोल जेल बाहिर इन्कलाव जिन्दावादको नारा घन्कायौ ।

महिला संघको संस्थापक महासचिवको हैसियतमा मैेले काम गरे । महासचिबको हैसियत अनुसार सबै काम गर्नुपर्ने महासचिब देखि पियनसम्मको काम म एक्लै गर्थे ।  २००४ सालमा हामीले गरेको आन्दोलनकै कारण अहिलेको पदमकन्या क्याम्पस खुलेको हो । तर नबुझेका मान्छेहरू पदमशमसेर शिक्षाप्रेमी मान्छे भएकोले त्यो स्कुल दिएको भन्ने गर्छन । महिलाका लागि पदमकन्या हाइस्कुल नै पहिलो स्कुल हो । २००५ सालमा महिलाको मताधिकारको माग लिएर पदम शमसेर कहाँ गयाैँ । श्रीमायालाई राणाहरूसंग कसरी बोल्ने भन्ने बारेमा थाहा भएकोले उनकै नेतृत्वमा हामी राणा कहाँ गएका थियाैँ ।

त्यसबेला पदमशमसेरले हुन त हो तर धर्म शास्त्रले दिदैँन, कानुनमा पनि छैन् कसरी यो अधिकार दिनु भन्ने जवाफ दिएका थिए । महिलाले जन्माएको छोराले संसार चलाउन हुने तर, उसैलाई जन्म दिने आमाले किन भोट दिन नपाउने भनेर प्रश्न गरौं । पद्मशमसेर बोलेनन् । मताधिकारका लागि हामीले धेरै संघर्ष गरेका थियौ । भोट खसाल्ने अधिकार त्यसै पाइएको होइन ।

प्रस्तुति : अस्मिता खड्का

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com