१३औँ साग : नेपाल बंगलादेशसँग ४४ रनले पराजित, स्वर्णकाे सम्भावना सकियाे
प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५५ रन बनायो ।
सुरुवात राम्रो गर्न नसकेको बंगलादेशले १६ रनमा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीनै खेलाडीलाई पूर्व कप्तान पारस खड्काले आउट गरेका थिए । जसमा ओपनर मोहम्मद नइम र सौम्य सरकारलाई ६ तथा सैफ हसनलाई खाता खोल्न नपाउँदै आउट गरे ।
त्यसपछि यासिर अलीलाई १४ रनमा अभिनाश बोहोराले पेभेलियन फर्काएपछि नेपालले ५९ रनमा चार विकेट लिन सफल भयो ।
तर त्यसपछि कप्तान नाजमुल हुसेन सन्तु र अफिफ हुसेनबीच ८६ रनको उत्कृष्ट साझेदारी हुँदा नेपालले बलियो लक्ष्य पायो । जसमा सान्टोले अविजित ७५ रन बनाए भने हुसेनले ५२ रनको अर्धशतकीय पारी खेले ।
बलिङमा नेपालका लागि पारस खड्काले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए ।
जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
खराब सुरुवात गरेको नेपालले ११ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १४ रनमा तीन विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।
नेपालका पारस खड्का ९ रनमा आउट भए भने पवन सर्राफले खाता नै खोल्न सकेनन् । यस्तै आरिफ शेख पनि खाता नखोलि पेभेलियन फर्किए ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी १६ रनमा पेभेलियन फर्किएपछि नेपालले चौथो विकेट गुमायो ।
कमजोर ब्याटिङ गरेको नेपालका रोहित पौडेल ८ तथा विनोद भण्डारी ३ रनमा पेभेलियन फर्किँदा नेपालले ७५ रनमा ६ विकेट गुमायो ।
त्यसपछि नेपालका खेलाडीबीच साझेदारी हुन सकेन । जसका कारण नेपाल सस्तैमा समेटियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ४३ रन बनाउँदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।
यो हारसँगै नेपालले अब कास्य पदकका लागि खेल्नेछ । अंकतालिकामा नेपालको ४ खेलबाट ४ अंक छ भने समान ३ खेल खेलेका माल्दिभ्स र भुटानको शून्य अंक छ ।
त्यस्तै श्रीलंका यू–२३ र बंगलादेश यू–२३ को समान ३ खेलबाट ६/६ अंक छ ।