वरिष्ठ नेता पौडेललाई फकाउने सभापति देउवाको प्रयास असफल !


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेपछि पार्टीको विवाद सतहमा आएको छ । शनिबार विहान सहमति खोज्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका थिए । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् । यो कदमसँगै देउवाको पौडेललाई फकाउने प्रयास विफल भएको छ ।

पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ । शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए ।

भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । ‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ ।’ महाधिवेशनको कार्यतालिका बनाउन केन्द्रीय समितिको म्याद थप पनि गर्नुपर्ने देउवाको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com