चिसोले जनजीवन प्रभावित


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

पुस लागेसँगै ह्वात्तै चिसो बढेपछि देशभरको जीवन प्रभावित भएको छ । केहि दिनअघि परेको वर्षा र हिमपातसँगै देशभर चिसो बढेको हो । तराईमा बाक्लो हुस्सु र सित परेको छ भने पहाडी क्षेत्रमा शीतसहित कठ्याङ्ग्रिने चिसो बढेको छ । तपाक्रम पनि घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार अधिकांश हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ । मंगलबार बिहानदेखि तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु अझै हटेको छैन् । जसले गर्दा राम्रोसँग घाम लाग्न नसक्दा चिसो बढेको छ ।

चिसो बढेपछि सडक तथा बजारहरुमा चहलपहलमा पनि कमी आएको छ । गौतमबुद्ध विमान स्थल भैरहवाका अनुसार बुटवल लगायत यस क्षेत्रको तामपक्रम १३ दशमलव २ डिग्री सेल्सियस रहेको छ । मौसम शाखाका मौसम विज्ञान सहायक गोविन्द कुमार झाका अनुसार आज हिजो मँगलबार यस क्षेत्रको अधिकतम तापक्रम १५ दशमलव ५ तथा न्यूनतम तापक्रम १२ दशमलव २ रहेको थियो । हिजोकै तुलनामा आज दिनभरको तापक्रम रहने सक्ने उनले अनुमान गरे । आज विहान यस क्षेत्रको तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो ।

तराईमा बाक्लो हुस्सु लागेपनि गौतमबुद्ध विमानस्थलका उडानमा प्रभाव नपर्ने उनले ग्लोबल आवाजलाई बताए । मँगलबार भिजिविलिटी केही कम्जोर देखिएपनि आज त्यस्तो नरहेको उनले जानकारी दिए । यसैगरी काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ । बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् श्रेष्ठले बताए । मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो । हिजोको तुलानामा आज निकै तापक्रम घटेको र अहिलेकै मौसमप्रणाली जारी रहे अझै घट्न सक्ने मौसमपूर्वानुमान महाशाखाको आंकलन छ । तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com