सहकारीलाई मर्जरमा लाने तयारी


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।

कामनपाले मर्जरमा जाने सहकारीलाई तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक पाँच हजार रुपियाँ कर तिर्नुपर्छ । ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सङ्ख्या घट्ने छ । पाँच वर्षमा सात सय सहकारी मात्र हुने छन् ।

काठमाडौँ महानगरपालिकामा पाँच सयभन्दा बढी सहकारी निष्क्रिय छन् । महानगरपालिकाले हाल बचत तथा ऋण सहकारी संस्था दर्ता बन्द गरेको छ । उत्पादन र रोजगारी प्रत्यक्ष प्रवद्र्धन गर्ने सहकारीहरूलाई मात्र दर्ता गरिएको ढकालको भनाइ छ । महानगरपाकिाले सबै सहकारीलाई अनलाइनबाट अनुगमन गरिरहेको छ । हरेक महिना सहकारीले अनलाइनमा मासिक प्रतिवेदन राख्ने गर्दछन् । ढकाल भन्नुहुन्छ, हामीले अनलाइनबाट सहकारीको अनुगमन गरेका छौँ, उनीहरूको मासिक रिर्पोट हेरेका छौँ, ऐन कानुन सम्मतबाट नभए हामी सजग गराउँछौँ ।
सहकारी एकअर्कामा मर्जर भएपछि क्षमता विकास हुने र आन्तरिक खर्च घट्ने छ । अस्वस्थ प्रतिस्पर्धा र महँगो ब्याजदरको होडबाजी हट्ने छ । दोहोरो सदस्यता र झोले सहकारी हट्ने छन् ।

सरल दरमा कर्जा प्रवाह हुने छ । ढकालको भनाइ छ, सहकारिताको मर्मअनुसार सुशासन कायम हुनेछ, पारदर्शिता बलियो हुनेछ, तीनवटा तलामा तीनवटा सहकारी राखेर लाखौँ भाडा तिर्नुभन्दा मर्जरपछि एउटै तलामा हुन्छ, सञ्चालन खर्च कम भएपछि ब्याजदर पनि कम हुनेभयो । जिल्ला सहकारी सङ्घ लिमिटेड काठमाडौँका अध्यक्ष टङ्कप्रसाद चौलागाईंले सहकारीहरूको मर्जर सान्दर्भिक भएको बताउनुभयो । उहाँ सहकारी धेरै भए, आवश्यकताभन्दा धेरै छन्, सङ्ख्यात्मक भए तर गुणात्मक हुन सकेनन् यसका लागि मर्जर जरुरी छ तर जबर्जस्ती मर्जर गर भनेर हँुदैन केही सुविधा पनि दिनुपर्छ ।

सहकारीमा सुशासन कायम गर्न, क्षमता अभिवृद्धि गर्ने र सहकारी संस्थाबीचको अस्वस्थ प्रतिस्पर्र्धा रोकेर सर्वसाधारणको विश्वास बढाउन गाभ्न प्रोत्साहित गरिएको कामनपाले जनाएको छ । मर्जरपछि सहकारीको विश्वसनीयता बढ्ने, संस्थागत खर्च कम भई सदस्यको सुविधा बढ्ने दाबी कामनपाको छ । कामनपा–२२ स्थित सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडामा रहेको तपस्वी बचत तथा ऋण सहकारी संस्था मर्जर भएर सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था भएको छ । वडा नं. २४ को विराज बचत तथा ऋण सहकारी र वडा नं. १३ को सप्तदीप बहुउद्देश्यीय सहकारी मर्जर भई सप्तदीप बचत तथा ऋण सहकारी संस्था भएको छ ।- लक्ष्मण दर्नाल /गोरखापत्र अनलाइन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com