निर्यात बढेपछि सोधनान्तर स्थिति २७ अर्ब रुपैयाँले बचतमा


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

चालू आर्थिक वर्षको पहिलो चार महिनामा अयात घट्ने तथा निर्यात बढेपछि सोधनान्तर स्थिति २७ अर्बले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधीमा सोधनान्तर स्थिति ५७ अर्बले घाटामा थियो । चालू आर्थिक वर्षको कत्तिकमा चालू खाता घाटा ३७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । चालू आवको चार महिनामा पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधमिा पुँजीगत ट्रान्सफर ४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रहेको थियो ।

चालू खाता घटामा सुधार आउँदै गएपछि चालू आवको कात्तिकसम्ममा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको थियो । २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई २०७६ कात्तिक मसान्तमा ११०३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा १४४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

२०७६ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधीमा निर्यात ११ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैंचालगायतका वस्तुहरुको निर्यात घटेको छ ।आर्थिक वर्ष २०७६÷०७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४५० अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा आयात ३५.८ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाइजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ । २०७६ कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो । चालू आवको कात्तिकसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी ३०४ अर्ब ९७ करोड रुपैयाँ कायम रहेको छ । गत आवको सोही अवधमिा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ कात्तिकको १०.२१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा ९.५० प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । गत आवको सोही अवधीमा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए । – कारोबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com