सीमा विवादबारे वार्ता गर्दै भारत र चीन
प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार
भारत र चीनबीच अन्तर्राष्ट्रिय सीमाबारे वार्ता हुँदैछ ।
दुई देशका विशेष प्रतिनिधिहरुबीच यही शनिबार हुने वार्ता २२औं चरणको हुनेछ । यही वर्षको सुरुमा चेन्नइस्थित अनौपचारिक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षीबीच भएको वार्तापछिको यो पहिलो वार्ता हुनेछ ।
यस पटकको वार्तामा भारतीय वार्ता टोलीको नेतृत्व अजित डोभलले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व विदेशमन्त्री वाङ यीले गर्ने बताइएको छ । २१औं चरणको वार्ता यसअघि अघिल्लो वर्ष चीनको चेङ्दुमा भएको थियो ।
दुबै पक्षको छलफल सीमा क्षेत्रमा शान्ति र सद्भाव स्थापनाका लागि केन्द्रित हुने बताइएको छ । यस वर्ष सी जिनपिङको भारत भ्रमणका बेला चेन्नइमा पनि यही विषयमा वार्ता हुने अपेक्षा गरिएको थियो ।
यस्तै गत महिना ब्राजिलमा भएको ‘ब्रिक्स’ सम्मेलनमा पनि मोदी र सी जिनपिङबीच भेट भएको थियो । त्यसो त, भारत भ्रमणका बेला जिनपिङले चेन्नइमा भारतसँगको सीमाबारे बोलेका थिए ।
सीमा समस्याबारे आफूहरुले निष्पक्ष र उचित समाधान खोज्ने प्रतिक्रिया दिएका थिए ।
मोदीले पनि दुबै देशले सैन्य साझेदारी र सहकार्यको स्तर बढाउनुपर्ने बताएका थिए । चीन र भारतबीच लामो समयदेखि नै सीमा विवाद कायम छ । भारतको भनिएको अरुणाञ्चल क्षेत्र चीनले पनि दावी गर्दैआएको छ । केही वर्षअघि मात्रै लद्दाखमा भिनियाँ र भारतीय सेनाबीच दोहोरो भिडन्त भएको थियो । -एजेन्सी