गहना निर्यातको ८० प्रतिशत सुन आयात गर्न पाउने


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

सुनचाँदी व्यवसायीले निर्यात भएको गहनाको ८० प्रतिशत सुन आयात गर्न पाउने भएका छन् । गरगहना निकासीलाई प्रोत्साहन गर्न सरकारले व्यवसायीलाई सुन आयात गर्न दिने भएको हो । निकासी भएको गरगहनाको ८० प्रतिशतसम्म सुन सीधै आयात गर्न पाउने प्रावधान बनाउन सरकारी समितिले सुझाव दिएको छ ।

गहना निर्यात गर्दा ८० प्रतिशतसम्म सुन आयात गर्न पाउने प्रावधानले व्यवसायीलाई व्यवसाय गर्न थप सुविधा भएको हो । यसअघि कानूनी रुपमा गहना निर्यात नभइ हस्तकलाका सामानका रुपमा निर्यात हुँदै आएका थिए । गहना निर्यात गर्दा ८० प्रतिशतसम्म सुन आयात गर्न पाउने व्यवस्थाले व्यवसाय गर्न व्यवसायीलाई सुविधा मिलेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको अध्ययन कार्यदलले मंगलबार बुझाएको प्रतिवेदनमा निर्यात गरेको गरगहनाको ८० प्रतिशतसम्म सुन आयात गर्न दिनुपर्ने सुझाव छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजक रहेको समितिले यस विषयमा प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गरेको छ । सो प्रतिवेदन मन्त्रालयका सचिवले अध्ययन गरेपछि मन्त्रीबाट पारित हुने छ । निकासीलाई प्रोत्साहनका लागि विभिन्न सुविधा दिनुपर्ने प्रतिवेदनमा रहेको व्यवायीको भनाइ छ । व्यवसायीका अनुसार सीधै सुन ल्याउन पाए बैंकलाई कमिशन तिर्नु पर्दैन ।यस्तै प्रतिवेदनमा वाणिज्य बैंकहरुले सुनको समान वितरण गर्नुपर्नेमा जोड दिएको छ । अहिले मुलुक प्रदेश संरचनामा गइसकेको छ ।

तर सुन वितरण प्रकृया केन्द्रीकृत हुँदा प्रदेशका व्यवसायीहरुलाई असर परेको निष्कर्ष निकालिएको छ । यसैगरी भन्सार कार्यालयहरुमा सुनको लकरसमेत निर्माण गर्न सुझाव दिएको छ । हाल नेपालबाट तयारी गरगहना हस्तकला शीर्षकबाट निर्यात भइरहेका व्यवसायीको भनाइ छ । विदेशमा नेपाली तयारी गहनाको माग उच्च रहेकाले विदेशमा रानीहार चन्द्र हार, हल्क तिलहरीको माग उच्च रहेको व्यवसायीको भनाइ छ ।

हाल नेपाली व्यवसायीहरुले हङकङ, दुवईलगायत देशमा कालिगढ राखेर व्यवसायसमेत सञ्चालन गरिरहेका छन् । यो प्रतिवेदन कार्यान्वयनमा आए व्यवसायीले आफूले वाणिज्य बैंकबाट किनेको सुन र निर्यातको परिमाण सुरक्षित राख्नु पर्नेछ । त्यही प्रमाणका आधारमा सुन आयात गर्न निवेदन दिनुपर्ने छ ।- कारोबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com