बुटवलका फुटपाथ व्यापारी सडकमा


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिरोध प्रदर्शन गरेको छ । स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको भन्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् ।

बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका गेटमा पुगेको थियो । सडकको फुटपाथ भन्दा बाहिर बदाम बिक्री गरेको भन्दै बुधबार नगर प्रहरीको टोलीले स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनलाई गम्भीर चोट लागेको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए ।

आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म संघर्ष जारी रहने बताउँदै संघका अध्यक्ष विष्णु पाण्डेले स्थानीय सरकारले उचित स्थानमा व्यापार-व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘दुई छाक टार्न ब्यापार गरेका हौं, गरिखाने बाटो खोस्ने सरकार कस्तो हो ? ’ उनीहरुको प्रश्न छ ।

बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । आन्तरिक राजश्व कार्यालयको साइनतर्फको फुटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ । बुटवलमा झण्डै एक हजार स्वरोजगार मजदुर छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com