भ्रमण वर्षमा रत्नमन्दिर खुल्ने


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने रासससँगको कुराकानीमा बताए ।

उनले भने, “नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको सहमतिसँगै भ्रमण वर्षमै सर्वसाधारणको लागि खुला गरिनेछ ।” ट्रष्टका सचिव ठाकुरले आफूहरु भ्रमण वर्षलाई नै लक्षित गरेर रत्नमन्दिर खुलाउन तयार भएको बताए । “राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति नेपाल ट्रष्टमा आएसँगै सर्वसाधारणको हितको लागि यो सम्पत्तिको उपयोग गर्ने हो । यसैअनुरुप रत्नमन्दिर खुल्छ, सञ्चालनको अधिकार सबै नेपाल ट्रष्टअन्तर्गत नै हुन्छ ।”

उनले स्थानीय र प्रदेश सरकारले आफू मातहतमा हुनुपर्छ भने पनि अहिले दिन मिल्ने अवस्था नरहेको बताए । “अहिले नै यसको सम्पत्ति हस्तान्तरण हुँदैन । कानूनले दिएको अधिकार ट्रष्टले उपयोग गर्दै आफै मातहतबाट रत्नमन्दिरको सम्पूर्ण व्यवस्थापकीयदेखि अन्य कार्य सञ्चालन हुन्छ ।”

फेवा किनारको रमणीय वातावरणमा करिब १११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा तत्कालीन राजा महेन्द्रले पोखरा घुम्न आएको त्यो ठाउँ मन परेर विसं २०२९ तिर रानी रत्न राज्यलक्ष्मीको नाममा बनाएका थिए । विगतमा सो भवनमा राज परिवारका सदस्य पोखरा आउँदा बस्ने गर्दथे ।

उक्त भवनमा ११ कोठा छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, नेपाली सेनाको लागि ३८ कोठे लामो भवन छ । बङ्गला शैलीको रत्नमन्दिरमा दक्षिण भारतबाट ल्याइएका वेतका खाटलगायत सामग्रीसहित कलात्मक तरिकाले सजावट गरिएको छ । राजा महेन्द्रका माइला भाई हिमालयले पनि रत्नमन्दिर नजिकै बनाएको हिमागृह त्यहाँ देख्न सकिन्छ । यसका अतिरिक्त बैठक कोठाहरू छुट्टाछुट्टै छन् भने भान्छा पनि अलग्गै छन् । दरबारभित्र रहेका सबै सामग्री सुरक्षित राखिएका छन् । सबै सिसी क्यामेराको निगरानीमा छन् ।

विसं २०५८ मा राजा वीरेन्द्रको वंश नाश भएसँगै त्यसको उपयोगको बारेमा बेला बखत चर्चा हुँदै आएको छ । भवन हाल नेपाल ट्रष्ट मातहतमा रहेको छ । नेपाल ट्रष्ट ऐन २०६४ को संशोधित व्यवस्थामा “ट्रष्टको सम्पत्ति राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुनेगरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न सकिने” प्रावधान उल्लेख गरिएको छ । कानूनले दिएको अधिकार उपयोग गरेर नै रत्नमन्दिर खुलाउने सचिव ठाकुरले बताए ।

सो रत्नमन्दिरको ऐतिहासिक महत्व रहेको र यसलाई पर्यटन ‘प्रोडक्ट’ को रुपमा ल्याएर सर्वसाधारणको लागि खुला गर्नुपर्ने भन्दै पर्यटन व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएका थिए । नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी विप्लव पौडेलले नेपाल ट्रष्टको निर्णय स्वागत योग्य भएको बताए ।

उनले भने, “हामीले निकै लामो समयदेखि आवाज उठाउँदै आएका थियौ । सर्वसाधारणलाई खुला गरेर पर्यटकलाई आकर्षित गर्नुेपर्छ भनेर अहिले नेपाल ट्रष्टले गरेको निर्णयले हामीलाई खुशी तुल्याएको छ ।” उनले रत्नमन्दिर खुला हुँदा आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने बताए ।

प्रदेशसभा सदस्य राजीव पहारीले पनि सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग राख्दै आएका थिए । “राजा रैती भइसके, व्यवस्था बदलिसक्यो अब सर्वसाधारणले यसको अवलोकन गर्न पाउनुपर्छ भनेर नै हामीले पहल गरेका हौँ । अन्ततः हामी सफल भएका छौँ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनबाटै खोल्ने तयारीमा छ । कुनै प्राविधिक रुपमा एक दुई दिन पर सर्न सक्छ तर सर्वसाधारणले अब रत्नमन्दिर हिमा गृहको अवलोकन गर्न पाउनुहुन्छ”, उनी भन्छन् ।

उनले रत्नमन्दिरमा आकर्षक पार्क बनाउनका लागि सांसद विकास कोषबाट रु २५ लाख रकम छुट्टयाएको पनि जानकारी दिए । उनले प्रदेश मातहतबाट रत्नमन्दिर सञ्चालन हुनुपर्ने पनि आफ्नो माग रहेकोमा जोड दिनुभयो । रत्नमन्दिर परिसरबाट फेवाताल पारी रानीवन र माथि विश्वशान्ति स्तूपलगायतका सुन्दर दृश्य देख्न सकिन्छ । रत्नमन्दिरमा नेपालका पहिलो जननिवार्चित प्रधानमन्त्री बिपी कोइराला पुग्नुभएको कुरा उहाँले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को समुद्घटनसँगै मन्दिर सर्वसाधारणको लागि खुला गरिएसँगै यसको थप आर्कषणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने मन्त्री लम्सालले बताए । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com