सात सय कर्मचारीको दरबन्दी रिक्त


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताए ।

उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् । उनका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन् । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ ।

तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो । उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन् ।

प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।

गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन् । प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराए । आगोले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ ।

“आयोगबाट सिफारिस गर्न अझै दुई/तीन महिना लाग्छ’’, उनले भने,‘‘ त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’’ -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com