डिआइजीलाई चक्कु ताकेपछि…


प्रकाशित मिति : पुस १२, २०७६ शनिबार

शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौंको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए । प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्, “भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो ।

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लिल शब्दसमेत प्रयोग गरिन् । सामुन्य रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए । गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पति दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्यका प्रमुख हुन् ।

शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए । सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन् । काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन् । यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ ।

डिआइजी पोखरेल यस्ता गतिविधि रोक्न शुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताए । कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नावय महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई सङ्केत गर्दै भने, “मानव हुनुको अर्थ तपाईँहरुको सेवामा देख्छु म, एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कष्ट भुलेर अभियान चलाएका छन् ।” उनले मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए ।

शुक्रबार राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उद्वार भयो । सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए । कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए । उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो । विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com