कृष्णलक्ष्मीको दिनचर्या
प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार
सर्मिला बुढाथोकी
दोलखा । उमेरले सात दशक कटिसक्योे, न छोराछोरी, न श्रीमान्, न आफन्तको सहयोग नै । दोलखा भिमेश्वर नगरपालिका ९ कि कृष्णलक्ष्मी खत्री आफ्नो जीविकाको लागि दिनँहु सडक पेटीमा भेटिन्छिन् नाङ्ले पसलसंग ।
धुलाम्य सडकको छेउमा बसको झ्याल तिर आँखा डुल्लाउदै ग्राहकको प्रतीक्षामा दिन बिताउन लागेको पनि २ दशक भयो कृष्णलक्ष्मीले । श्रीमान्ले दोस्रो विवाह गरे । उनको कोखबाट सन्तान पनि भएनन् । घरमा पनि किचलो व्यवहार । त्यसैले जीविकोपार्जनकै लागि कृष्णलक्ष्मी २० वर्षअघि सरदमुकाम चरिकोट झरिन् र यही नाङ्ले पसल गर्न थालिन् ।
दैनिक सय देखि एक सय पचास रुपैयाँसम्मको सामान बिक्री हुन्छ उनको । १ हजार रुपैयाँको सामान किनेर सुरु गरेको नाङ्ले पसलबाट ठ्याक्कै कति कमाई भयो भन्ने लेखाजोखा नभएपनि सामान्य गुजारा चलेकोे उनी बताउँछिन् ।
भीमेश्वर नगरपालिका स्थित तरकारी बजारमा सानो झुपडि बनाएर बस्दै आएकी कृष्णलक्ष्मी विरामी हुँदा र नसक्दा सहज होस् भनेर स्थानिय सहकारीमा मासिक १ सय रुपैयाँ बचत गर्ने गरेको बताउँछिन् । आफ्नो हात खुट्टा चल्दासम्म आफैँले गरेर खानु पर्छ भन्ने मान्यता राख्ने कृष्णलक्ष्मी काम गर्न नसक्ने अवस्थामा के गर्ने भन्ने चिन्ताले सताउने गरेको बताउछिन् । ुहातखुटा चल्दासम्म त म आफै गर्छु, हातखुटा नै नचल्ने भएपनि के गर्ने भन्ने चिन्ता छ, उनले भनिन्– ुत्यसैले सहकारीमा पैसा जम्मा भए छरछिमेकले नि सहयोग गर्लन भन्ने आशा छ ।’
सरकारले आफू जस्ता जेष्ठ नागरिकलाई भत्ता मात्र नभएर विशेष व्यवस्था गरिदिए बृद्धा अवस्थामा एक्लो भएकालाई चिन्ता नहुने कृष्णलक्ष्मी बताउछिन् । सडकमै लामो समय विताएकी उनमा धेरै हेक्का रहेछ । त्यसैले देशको सबै जिल्लामा बृद्धाश्रमको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, सार्वजनिक यातायातमा सहुलियत, जेष्ठ नागरिक मैत्री वातावरण हुनुपर्ने उनी बताउछिन् ।
सम्पन्न छोराछोरी भएकाहरुले समेत बुवाआमालाई बुढेसकालमा एक्लो बनाएको देखेका कृष्णलक्ष्मीले आफू छोराछोरी नै नभएर एक्लो भएकोमा खासै दुखी भने देखिन्दैनन् ।महिला खबर