प्रदेश ५ सरकारले साग विजेतालाई सम्मान गर्ने


प्रकाशित मिति : पुस १४, २०७६ सोमबार

प्रदेश नम्बर पाँच सरकारले हालै सम्पन्न सागमा सहभागी भई पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश नम्बर पाँचबाट सहभागिता जनाएका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मानित गर्ने निर्णय गरेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी गराए । नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा प्रदेशबाट सहभागी भई स्वर्णको एकल विजेतालाई जनही एक लाख तथा समूहगत खेलका स्वर्ण विजेतालाई ८० हजार रुपैयाँ नगदसहित सम्मानित गरिने छ ।

यसैगरी एकल प्रतिस्पर्धातर्फ रजत र कास्य पदक विजेतालाई क्रमशः नगद ८० हजार र ६० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको हो । समूहगत प्रतिस्पर्धामा रजत र कास्य विजेताहरुलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने मन्त्री गिरीले जानकारी गराए । मन्त्रीपरिषद बैठकले विपत प्रभावित क्षेत्रमा बस्ति पूर्वाधार विकास गर्ने कार्यविधि २०७६ र सामाजिक विकास मन्त्रालयको पाठ्यक्रम तयार गर्ने कार्यविधि २०७६ लाई स्वीकृत गरेको छ । प्रदेश वातावरण संरक्षण ऐन- २०७६ प्रदेश सभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गर्नुका साथै हरित स्वयम् सेवक नियूक्त गर्ने निर्णय समेत गरेको छ । -ग्लोबल आवाज अन्लाईनको सहयोगमा 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com