गृहकार्य नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

रूपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । गृहकार्य नगरेको भन्दै सम्मरीमाई गाउपालिका- ६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबुवा मोहम्मद हुसेनले जानकारी दिए । तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे । शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । आफ्नो सन्तान निर्घात कुटिएर उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको परिवारको गुनासो छ ।

तर, प्रक्रिया नर्पुयाइ उजुरी आएकाले दर्ता नगरिएको इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालको भनाई छ । घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया र्पुयाएर उजुरी दिन आफूले आग्रह गरेको उनले जानकारी दिए । फरार शिक्षको खोजी गरिहेको र उनी भेटिएपछि प्रक्रिया र्पुयाएर पक्राउ गरी आवश्यक कारवाही गर्ने इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकाल बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com