जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता


प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

सिरहामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा आज सिरहा नगरपालिका–१२ सारस्वरमा आयोजित अन्तरक्रियामा जिल्लाभरीका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदत्र्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराई दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले प्रतिबद्धता जनाएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने अन्तरक्रियाबाट निर्णय भएको जानकारी दिँदै प्रहरी उपरीक्षक चतुर्वेदीले त्यो निर्णय विपरीत बालविवाह गराइए कारवाही हुने बताए । पछिल्लो समय जिल्लामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीहरुको पण्डित तथा मुस्लिम समुदायका मौलानाहरूसँग अन्तरक्रिया गरेको हो ।

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेद्का घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ । बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गरेका छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई निरुत्साहित गर्न अभियान चलाइएको प्रहरी उपरीक्षक चतुर्वेदीको कथन छ ।उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको कानुनी व्यवस्था छ ।

सिरहा नगरपालिका–१२ का वडाध्यक्ष शत्रुधन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका पुरोहित तथा मौलानाहरुसँग बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com