नेपाल रङमा आत्मनिर्भर, वार्षिक तीस अर्बको खपत


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताए । चितवनस्थित जम्सिन पेन्ट्सका प्रमुख लक्ष्मण अर्यालका अनुसार नेपालमा स्वदेशी उत्पादनबाहेक बहुराष्ट्रिय कम्पनी, भारतीय कम्पनीका रङ नेपालमा आउने गरेका छन् तर विदेशी रङ जत्तिकै गुणस्तरीय नेपाली उत्पादनका रङ रहेको दाबी गरे ।

चितवनका रङ उद्योगले वार्षिक तीन अर्ब रुपियाँ बराबरको उत्पादन गर्दै आएका छन् । नेपाली रङको बजारमा यहाँको उद्योगले जिल्लाको मागलाई पूरा गरेर देशभर नै आफ्ना उत्पादन पु¥याएको उद्योगीले जानकारी दिएका छन् । २५ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सका उत्पादन देशभर रहेको उनले बताए । प्रमुख अर्यालले भन्नुभयो, नेपाल रङमा आत्मनिर्भर भइसकेको छ, यहाँको मागलाई स्वदेशी उत्पादनले पुगेको छ । उनका अनुसार चितवनमा रहेका उद्योगले मात्रै वार्षिक तीन अर्ब रुपियाँ बराबरको कारोबार गरेका छन्, जुन चितवनको आन्तरिक मागको दोब्बरले बढी उत्पादन हो । अर्यालले भने, एक अर्ब ५० करोड रुपियाँको रङ चितवनमा खपत हुन्छ तर यहाँका उद्योगले वार्षिक तीन अर्ब रुपियाँको रङ बिक्री गरेका छन् । यहाँका केही उद्योगले चितवनसहित तराईका जिल्ला, नेपालभरि र आसपासका क्षेत्रमा रङ बिक्री गर्दै आएका छन् ।

चितवनमा नै उद्योग रहेर १९ जिल्लाभन्दा धेरै स्थानमा बिक्री गर्दै आएको एपोलो पेन्ट्सका सञ्चालक ईश्वर गौतमले चितवनका उद्योगले उत्पादन गरेको रङको बजार राम्रो रहेको र माग नेपालभर रहेको बताए । उनका अनुसार नेपाली रङको गुणस्तर पनि राम्रो रहेको छ, जुन पाँचदेखि सात वर्ष टिक्छ । त्यस्तै नेपालमा रहेका ठूला साना गरी ४५ रङ उद्योगमध्ये नेपाल गुणस्तर चिह्न प्राप्त पनि रहेका छन् । चितवनमा मात्र विराज, तिरुपति, एपोलो, जस्मिनलगायत गरी एक दर्जन उद्योग रहेका छन् । -गोरखापत्र अनलाइन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com