राष्ट्र निर्माता पृथ्वीनारायण शाह: मृत्युको कारण बाघको आक्रमण कि रोग ?


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा बने । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डौ उपत्यकाका ३ राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए । उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो । तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन् । वडामहाराजधिराज पनि भनिने पृथ्वीनारायण शाहको मृत्यबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन्

इतिहासकार दिनेशराज पन्तको विश्लेषण

नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए । उनले त्यसपछि क्रमशः काठमाण्डौ खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शोसित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए । त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए । उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे । केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन् । केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए । गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो । चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्व्तिर एकीकरण अभियान थाले ।

अभियान

पूर्व्तिरको अभियान भने केही सहज देखियो । पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो । यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुर्पयो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन् । उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो ।

प्रमाण

उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा ’गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया’ अर्थात् ’गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवान्को इच्छाले आफैँ सिध्यिए’ भन्ने उल्लेख छ । अरू लिखतमा पनि उनी बितेको कुरा पाइन्छ । नेपालेश्वर उपन्यासमा पृथ्वीनारायणको मृत्युबारे वर्णन गरिएको छ । तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन। विसं १९९२ मा भारतको दार्जे्लिङबाट सूर्य्विक्रम ज्ञवालीले निकालेको ’पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार ’पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते’ भन्ने विवरण दिइएको छ । विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ’नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ’पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो’ भन्ने उल्लेख छ ।

उपन्यास
सम्भवतस् त्यसैकै आधारमा विराज भन्ने एक भारतीय लेखकले हिन्दीमा ’नेपालेश्वर’ भन्ने उपन्यास लेखेका छन् । त्यहाँ पनि रामजीप्रसाद उपाध्यायले लेखेकै कुरा लेखिएको छ । विराजले लेखेको उपन्यास त उपन्यास नै भयो । त्यसमा काल्पनिक कुरा धेरै हुनु अन्यथा भएन । तर ऐतिहासिक उपन्यास भनिएपछि त्यसमा प्रामाणिक कुरा लेख्ने र जुन कुरामा इतिहास बोलेको छैन त्यसमा थप गर्नुपर्ने हो। नेपाल र दक्षिण एशिया क्षेत्रमा त्यस्तो खालको अभ्यास कमै देखिन्छ । त्यसले गर्दा विराजको उपन्यासको उक्त वर्णन कल्पित हो कि भन्न सकिन्छ । रामजीप्रसाद उपाध्यायले लेखेको चाहिँ इतिहास नै हो र त्यसबेला पनि त्यस्तो चर्चा रहेछ भन्ने त्यसबाट देखिन्छ ।

अविश्वास

यहाँनिर विचार गर्नुपर्ने मुख्य कुरा के हो भने विसं १९३८ सालमा भएको ’३८ साल पर्व’मा धपाइएर बनारसमा पुगेर पुस्तकको व्यवसाय गरेर बस्न बाध्य पारिएका परिवारका सदस्य भएकाले रामजीप्रसाद उपाध्यायका पुस्तकमा राणाहरूप्रति अत्यन्त द्वेष व्यक्त गरिएको छ । उनले राणाहरूप्रति पूर्वाग्रह राखेर लेखेको स्पष्ट देखिन्छ । राणाहरूबारे उनले, प्रमाणित होस् वा अप्रमाणित, द्वेष व्यक्त गर्नकै लागि कतिपय कुराहरू लेखेका छन् । तत्कालिक परिस्थिति हेर्दा पृथ्वीनारायण शाह राजा भएकाले उनले कहिल्यै सिकार खेलेनन् होला भन्न त सकिँदैन । रामजी उपाध्यायको ’नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ’पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनको मृत्यु भयो’ भन्ने उल्लेख छ । तर उनी राज्य विस्तारमा दत्तचित्त भएर लागेकाले र उनकै दिव्योपदेशमा नाचगान इत्यादिलाई निन्दा गरिएकाले पनि उनले जीवनको उत्तरार्धमा सिकार खेले होलान् भनेर पत्याउन सकिँदैन।

आधार

सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ । सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र ? उनले त ’अब म बाँच्दिन’ भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको देखिन्छ । उपलब्ध सामग्रीहरूका आधारमा भन्नुपर्दा बाघले उनलाई आक्रमण गरेको भन्ने विश्वास गर्न सक्ने आधार देखिँदैन । तसर्थ उनको मृत्यु सामान्य ढङ्गले नै भएको हुन सक्छ । उनको शरीरमा खटिरा आएको भन्ने कुरा चाहिँ हल्लै भए पनि विश्वास गर्न सकिने कुरा हो । अन्य कुरामा खासै विश्वास गर्न सकिँदैन ।

लिखत
उनले जीवनको अन्तिम समय कसरी बिताए भन्नेबारे खासै लिखत भेटिएका छैनन् । तर उनी बित्नुभन्दा एकदुई महिनाअघि उनले भगवन्तनाथ योगीलाई लेखेको चिठी भेटिएको छ । यो प्रामाणिक कुरा हो । त्यसमा उनलाई आफ्ना उत्तराधिकारीको चिन्ता भएको देखिन्छ । चिन्ताको विषय चाहिँ आफ्ना जेठा छोरा प्रतापसिंह शाह उचित बाटोमा नहिँडेको र नातिको मृत्यु भएको कुरा हो। पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंहको विवाहिता रानीबाट एउटा छोरा जन्मिएका थिए । तर उनको सानैमा मृत्यु भयो । त्यसबारे पृथ्वीनारायणले ’गुरु गोरखनाथले जन्माउनु भएको थियो फेरि आफैँले लिनुभयो’ भनेको भनी लेखिएका लिखतहरू भेटिन्छन्। पृथ्वीनारायण शाहको मृत्युपछि विसं १८३२ साल असारमा उनका नाति रणबहादुर शाहको जन्म भएको हो।

मृत्युको मिति र काट्टोको प्रसङ्ग
पृथ्वीनारायण शाहको मृत्यु भएको मितिबारे खासै विवाद छैन। तर झन्डै पाँच दशकअघि अनुसन्धाता मोहनप्रसाद खनालले शाहको मृत्युको मितिबारे प्रश्न उठाएका थिए । उनले शाहको मृत्यु विसं १८३१ माघ १ गते भएको होइन भनेर लेखेका थिए। तर त्यसको पनि खण्डन भइसक्यो । उनले लक्ष्मण खनाल भन्ने एक व्यक्तिले पृथ्वीनारायण शाहको काट्टो खाएको पत्र छापेर यस्तो दाबी गरेका थिए । त्यो पत्रले पृथ्वीनारायण शाहको काट्टो खाने ब्राह्मण खनाल थरका नेपाली थिए भन्ने नयाँ कुरा पत्ता लगाए पनि मृत्युको दिन फरक परेको कुरा भने असत्य प्रमाणित भइसकेको छ । पछिल्लो समयमा नेपाली राजाहरूको काट्टो भट्ट ब्राह्मणलाई ख्वाउने चलन थिया े। पृथ्वीनारायण शाहका बेला नेपालकै खनाल ब्राह्मणले त्यस्तो काट्टो खाएको उनले प्रकाशित गरेको पत्रले पुष्टी गर्छ । शाहको मृत्युको मितिमा भने मोहनप्रसाद खनालको त्यो दाबी प्रमाणबाट सिद्ध हुन सकेन। पूर्णिमाको २५ पूर्णाङ्कमा हामीले निकालेको वक्तव्यमा सप्रमाण त्यसको खण्डन भयो र हाल उक्त दाबी निरस्त भइसकेको छ।

योगदान
हामीले अध्ययनका क्रममा भेटेका पृथ्वीनारायण शाहका पालाका र त्यसपछिका पनि पद्य, वंशावली, ठ्यासफु, ज्योतिषका वर्णन आदिले उनको मृत्य विसं १८३१ माघ १ गते नै भएको देखाउँछन्। अहिले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता वा नेपालको एकीकरणकर्ता मान्ने कि नमान्ने विषयमा पनि विवाद हुने गरेको छ । उनको जन्मजयन्तीमा बिदा दिने कि नदिने भन्ने विषयमा पनि बहस भइरहेको छ । तर पृथ्वीनारायण शाहलाई हेर्दा हामीले कुनै व्यवस्थासँग दाँजेर हेर्नु हुँदैन। टुक्रिँदैटुक्रिँदै ५२ वटा भन्दा बढी राज्यमा खण्डित भएको नेपाललाई उनको साटो अर्को कसैले एकीकरण गरेको भए उसैले त्यसको जस पाउँथ्यो । अहिलेको जस्तो नेपाल त उनकै कारणले भएको हो । नेपाल नै चाहिँदैन, यो देश बनेर नराम्रो भयो भन्ने हो भने मात्र फरक कुरा हो । नत्र त उनलाई गाली गर्नुपर्ने कुनै कारण छैन।

आवश्यकता
पृथ्वी जयन्तीमा बिदा दिने वा नदिने भन्ने कुराचाहिँ गौण हो । अहिले बरु उनीमाथि थप अध्ययन र अनुसन्धान हुनुपर्ने हो । विसं १८२४ मा इस्ट इन्डिया कम्पनीले किन्लकको नेतृत्वमा पठाएको फौजलाई उनले सिन्धुलीगढीमा कसरी हराए र विसं १८१९ मा मिर कासिमको फौजलाई हराउन कसरी सफल भए भन्नेबारे अध्ययन हुनै सकेको छैन। उनले ती दुवै फौजलाई हराउन नसकेको भए नेपाल अहिलेको अवस्थामा हुने थिएन । ती युद्ध जित्न उनी कुन कारणले सफल भए भन्ने अध्ययन गर्नेतर्फ हामी लाग्नुपर्ने हो । विसं १८७१र७२ मा नेपाल ठूलो राज्य हुँदा समेत हामीले अङ्ग्रेजसँगको युद्धमा ३ खण्डमा एक खण्ड मुलुक गुमाउनुपर्यो । तर त्यसभन्दा धेरै अघि नै पृथ्वीनारायण शाह कसरी सफल भए भन्ने अध्ययन गर्नतर्फ लाग्नुपर्छ । त्यसो भन्दैमा उनको स्तुतिगान गर्नुपर्छ भन्ने होइन । सत्य तथ्यको खोजी गरेर आगामी दिनलाई समेत शिक्षा दिनेगरी अध्ययन हुनुपर्छ भनेको हो। -बिबिसि नेपाली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com