उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिँदै


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिनुहुने भएको छ । तुम्बाहाङ्फेले सभामुखलाई सम्बाेधन गरेर संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गर्नुभएको संसद सचिवालय स्राेतले जनाएको छ ।

उपसभामुखको राजीनामापछि आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने र उहाँले नै उपसभामुखको राजीनामा पढेर सुनाउने तयारी गरिएको सचिवालयले जनाएको हो । आजको बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । सचिवालय स्राेतकाअनुसार माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने बारे निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com