वीरगंज नाकाबाट मात्रै भित्रियो ६ महिनामा ३ अर्बको धान


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

धान र चामलको आयातमा वृद्धि हुँदै गएको छ। स्वदेशी उत्पादनले मागको आधा पनि नधान्ने भएकाले भारतबाट धान-चामल आयातको परिमाण वर्सेनि बढेको हो। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार धानमा ५ प्रतिशत र चामल आयतमा ८ प्रतिशत भन्सार महसुल लाग्छ। कृषिजन्य सामग्री भएकाले यी वस्तुको आयातमा भ्याट लाग्दैन।

गत आवको तुलनामा चालु आवको ६ महिनामा धान आयातबाट ३ करोड ७१ लाख ८ हजार र चामल आयातबाट ३ करोड १९ लाख ७६ हजार राजस्वमा वृद्धि भएको भन्सार कार्यालयको विश्लेषण छ। भन्सारले सोना मन्सुली वा मोटका धानको प्रतिकिलो १५ रुपैयाँ र जिरा मसिनो धानको १८ रुपैयाँ प्रतिकिलोको दरमा राजस्व लाग्ने गर्छ। वीरगंजस्थित ओम चावो विरो प्रालिका सञ्चालक सुरेश रुगंटाले नेपाली राइस मिल उद्योगलाई नेपालमा पर्याप्त मात्रामा चामल बनाउन धान नपाइने गरेकोले भारतको उत्तर प्रदेश, बिहारबाट आवश्यक पर्ने धान खरिद गरी ल्याइरहेको बताए।एउटा गाडीमा २५ देखि ३० टन सम्म धान आउने गरेको उनी बताउँछन्।

नेपालको धानबाट नेपालका उद्योगहरु एक महिना पनि चल्न नसक्ने जिकिर उनले गरे। भारतबाट सोना मन्सुली र जिरा मसिनो आयात गर्दा सबै खर्च जोडदा प्रति किलो ३२ रुपैयाँदेखि ३५ रुपैयाँ पर्ने गरेको उनले बताए। भारतबाट भित्रिने धानबाट करिब ५० प्रतिशत मात्र चामल निस्किने गरेको छ। ३२ देखि ३५ रुपैयाँमा खरिद गरी ल्याइएको धानबाट चामल निकालेपछि सोना मन्सुली ४५ र जिरा मसिनो ६५ रुपैयाँ प्रतिकिलोको दरमा बेच्ने गरेको उनको भनाइ छ। उनले धान महँगो भएको बेला चामल पनि आयात गर्ने गरेको बताए।स्वदेशी चामल उद्योगलाई संरक्षण गर्न चामल आयातमा भन्सार महसुल ८ बाट १५ प्रतिशत पुर्‍याउनु पर्ने नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले माग गरे।

भारतबाट अहिले विशेषगरी जिरा मसिनो धान र चामलको आयात बढि हुने गरेको उनले बताए। सरकारको अव्यवहारिक नीतिले करिब २ हजार स्वदेशी चामल उद्योग संकटमा परेको उनको आरोप छ। उनले वीरगंज करिडोरमा मात्रै अढाई सय चामल उद्योग रहेको चर्चा गर्दै सरकारले चामल आयातमा भन्सार महसुल वृद्धि नगरे सबै स्वदेशी चामल उद्योग धराशायी हुने र उद्योगीहरु ट्रेडिङ व्यवसायतिर लाग्ने तर्क गरे।-बिजमाण्डु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com