वामदेव गौतम बने नेकपा उपाध्यक्ष
प्रकाशित मिति : माघ १९, २०७६ आईतबार
बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्ष बनेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै सचिवालय सदस्य समेत रहेका नेता गौतम उपाध्यक्ष बनेका हुन् ।
यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।
केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिए ।