स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी कथाका पाना च्यात्न सांसद यशोदा गुरुङ सुवेदीको माग
प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् ।
उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् । उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्- ‘यसका लागि के गाँउ के शहर सरकार, राजनीतिक दल र नागरिक समाज सबैको सशक्त खाँचो छ’, उनले भनिन्, ‘छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वास तोड्न सकियोस्, छाउसँग जोडिएका कु-संस्कारलाई मलजल गर्ने श्री स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रतकथाका केही पानाहरु च्यात्नेतर्फ सरकारको ध्यानाकर्षण होस्।’