अमेरिकामाथि नेपालको शानदार जित


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर गर्दै ८ विकेटले पराजित गरेको हो ।

नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए।

अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।

लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । यस्तै करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com