आज नवौं विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार
आज नवौं विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा बिक्रम सम्बत २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो। विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ ।
सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।