संयुक्त पूर्जाः बलियो बनाउँदै दाम्पत्य सम्बन्ध
प्रकाशित मिति : चैत्र १३, २०७३ आईतबार
सम्पतिमा महिलाको समान अधिकार नहुँदा जग्गा बेच्ने, जुवा तास खेल्ने, रक्सी खाने र सम्पतिको कुरा गर्दा श्रीमतीलाई यातना दिएका घटना थुप्रै आउने गरेकोमा सगोलनामा गराएपछि त्यसमा कमी आएको छ ।
शिवप्रसाद ढुंगाना
ओखलढुंगा कुन्तादेवी गाविसका भरतकुमार ढकालले आफ्नो नाममा भएको सबै जग्गा श्रीमती दुर्गा र आफ्नो नाममा सगोलनामा गरे । सम्पतिमा दुवै दम्पतीलाई बराबर हक हुन्छ भन्ने देखाउन सगोलनामा गरी संयुक्त पूर्जा बनाएको ढकालको भनाइ छ । ‘राम्रो कामको सुरुवात आफैंबाट गरौं र अरुलाई पनि प्रोत्साहन मिलोस् भनेर संयुक्त पूर्जा बनाएका हौं,’ स्थानीय शिक्षक समेत रहेका ढकाल भन्छन् ।
च्यानम गाविसका भीमबहादुर बस्नेतले पनि सगोलमै बसिरहेका दुई श्रीमती कुम्भकुमारी, हेमकुमारी र आफ्नो नाममा सबै सम्पत्ति सगोलनामा गरे । घरको अचल सम्पति सबै भीमबहादुरकै नाममा हुँदा दुवै श्रीमतीलाई श्रीमानले सम्पति सौतालाई मात्र दिने हो कि भन्ने चिन्ता लागेको कुम्भकुमारी बताउँछिन् । ‘श्रीमान्ले अर्कीलाई मात्र सम्पत्ति दिन्छन् कि भन्ने चिन्ता अब हटेको छ, अहिले दिदीबहिनी मिलेर बसेका छौं,’ कुम्भकुमारी सुनाउँछिन् ।
सगोलनामा गरेपछि उनीहरू तीनै जनाको नाममा ८ रोपनी जग्गा कायम भएको छ । सम्पत्तिका कारण ठाक्कठुक्क पर्ने उनीहरूका बीच अहिले सौर्हादपूर्ण सम्बन्ध कायम भएको र एकले अर्कोलाई सम्मान र सहयोग गर्ने गरेको भीमबहादुर बताउँछन् ।
भूमि अधिकार मञ्चका संयोजक सरस्वती कट्वाल केही समय अगाडिसम्म गाउँमा सम्पत्ति सगोलनामा गराउन शिविर लैजाँदा घर भाँड्न आएका भन्दै गाउँलेले विरोध गर्ने गरेको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘गाउँका अशिक्षित मात्र होइन, स्कुल पढाउने शिक्षकहरू समेत घर भाँड्न आएका भन्दै हामीलाई बाटोबाटै फिर्ता पठाउँथे । अहिले सबैले चासो दिन थालेका छन् ।’
एकाधिकार तोडियो, सम्बन्ध जोडियो
ओखलढुंगामा तीन वर्षअघि मञ्चले संयुक्त पूर्जाको अभियान चलाएको थियो । सो अभियानबाट हालसम्म ४ सय ४९ जोडीले सगोलनामा कायम गरी संयुक्त पूर्जा बनाएका छन् । मञ्चको सहजीकरणमा च्यानम गाविसमा १०६, मुलखर्कमा ६२, कटुञ्जेमा १३४, कुन्तादेवीमा १४२, ठूलाछापमा एक, सिस्नेरीमा २ र वरुणेश्वरमा २ दम्पतीले सगोलनामा गराएको मञ्चको तथ्याङ्क छ । यसबाट कुल ५ हजार २ सय ७४ रोपनी क्षेत्रफलमा महिला र पुरुष दुवैको स्वामित्व कायम भएको छ ।
संयोजक कट्वालका अनुसार सम्पतिमा महिलाको समान अधिकार नहुँदा जग्गा बेच्ने, जुवा तास खेल्ने र मादक पदार्थ सेवन गर्ने सम्पतिको कुरा गर्दा श्रीमतीलाई यातना दिएका घटना थुप्रै आउने गरेकोमा सगोलनामा गराएपछि त्यसमा कमी आएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिलाले मञ्चमा आएर परिवारमा हुने झै–झगडा कम हुन थालेको बताउने गरेका छन् ।
सगोलनामाका अतिरिक्त जिल्ला मालपोत कार्यालयमा महिलाको नाममा मात्रै जग्गा रिजष्ट्रेशन हुने क्रम समेत वर्षेनी बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी राजन दाहालका अनुसार आर्थिक वर्ष ०७१/ ०७२ मा ९ सय १० महिलाले जग्गा दर्ता गरेकोमा आर्थिक वर्ष ०७२/०७३ मा १ हजार ९ सय ५४ जनाले जग्गा दर्ता गरेका छन् । छुट पाइने व्यवस्थाका कारण श्रीमानले जग्गा खरिद गर्दा श्रीमतीका नाममा दर्ता गर्ने गरेका छन् । झगडा मात्रै गरिरहने दम्पतीमा जग्गा श्रीमतीका नाममा गरेपछि मिलाप भएको दाहालको अनुभव छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा धेरैजसो उजुरी श्रीमानले खान लाउन नदिएको भन्ने खालका आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्रका दशरथ चौधरी बताउँछन् । उनका अनुसार, यस विषयमा छलफल गराउँदा सम्पति माग्ने र आफ्नो नाममा जग्गा नभएकाले हिंसा हुने गरेको महिलाले बताउने गरेका छन् ।
जग्गामा स्वामित्व बढेपछि महिलामा आत्मसम्मान बढ्ने, पुरुषले माया गर्ने, घर व्यवहारमा सरसल्लाह लिने र अचल सम्पति किनबेचमा महिलाको सहमति लिन थालिएको महिला अधिकारकर्मी सुन्तला परियार बताउँछिन् । सम्पतिका कारण पनि महिला हिंसा हुने र कानुनी कारवाहीका लागि सहयोग माग्न आउने गरेको परियारको अनुभव छ ।
तर, परिवारमा श्रीमतीको नाममा मात्र जग्गा हुँदा श्रीमान् पीडित हुने भएकोले सम्पत्ति दुवैको नाममा गर्नुपर्ने संयोजक कट्वालको जोड छ । ‘कतिपय श्रीमतीले सम्पत्ति आफ्नो नाममा भएपछि अरुसँग सम्बन्ध गाँसेका पनि छन्, यसैले दुवैको नाममा गर्दा राम्रो हुन्छ,’ उनी भन्छिन् । प्रहरी तथ्याङ्क हेर्दा पनि हरेक वर्ष करिब १२ वटा उजुरी श्रीमतीले सम्पत्ति लिएर हिँडेका आउने गरेका देखिन्छन् । सञ्चारिका फीचर सेवा