इटालीका डाक्टरले यस्तो विपत् कहिल्यै देखेका थिएनन्


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

सम्भवतः नियन्त्रणका लागि लिइएका कदमले काम गर्नेछन्, तर अहिले भने हामी गम्भीर विपतमा फसेका छौँ
इटालीका चिकित्सकमध्ये कसैले पनि विगतमा यस्तो विपद् सामना गरेका थिएनौँ । हामीले सडक दुर्घटना, रेल दुर्घटना र भूकम्पको समयमा आफ्नो काम–कर्तव्य कुशलताका साथ निभाएका छौँ ।

तर, भाइरसले यति धेरै मानिसको ज्यान लिइसक्यो कि यो नियन्त्रण हुनुको साटो दिन दुईगुना रात चौगुनाका हिसाबले विस्तार भइरहेको छ । हामी सधैँ प्रकोपलाई हामीभन्दा टाढा अन्तै, विश्वको अर्कै भूभागमा घट्ने विपद्को रूपमा सोच्छौँ । तर, यसपटक यसले हामीलाई नै छोप्यो र यसले हाम्रा प्रियजन, छिमेकी, साथीहरूलाई प्रभावित बनायो । म मिलानस्थित पोलिक्लिनिकको सान डोनाटोको एक एनेस्थेसियाविद् हुँ ।

यो भाग इटालीको कोरोना भाइरस प्रकोपको केन्द्र लोम्बार्डी क्षेत्रमा पर्छ । इटालीमा कोरोना भाइरसको पहिलो बिरामी फेब्रुअरी २१ मा पहिचान भएको हो । त्यही वेला नै मुटु शल्यक्रियाका लागि विशेषज्ञता हासिल गरेको हाम्रो अस्पतालले कोभिड–१९ का बिरामीलाई सहयोग गर्ने प्रस्ताव गयो । अन्य अस्पतालसँग मिलेर हामीले ‘रेडजोन’का अस्पताल पठाउने ‘इन्टेन्सिभ चिकित्सक’को कार्यदल पनि बनायौँ । म्पूर्ण पूर्वनिर्धारित शल्यक्रिया पर सारियो र इन्टेन्सिभ केयरका बेडहरू कोरोना भाइरसका बिरामीको उपचारका लागि दिइयो ।

२४ घन्टाभित्र म काम गर्ने अस्पतालले शल्यक्रिया कक्ष र एनेस्थेसिया कक्षलाई नयाँ इन्टेन्सिभ केयरमा रूपान्तरण ग-यो । थप ४० बेड भाइरस संक्रमणको आशंका भएका वा संक्रमित भएका तर गम्भीर अवस्थामा नरहेकाका लागि छुट्याइयो । तर, यसबीच संक्रमितको संख्या तीव्र रूपमा फैलँदै गयो । मंगलबारसम्म इटालीमा ३१ हजार पाँच सय ६ बिरामी थिए, जसमा २९ सय ४१ भाइरसमुक्त भए भने २५ सय तीनको ज्यान गयो । त्यस दिन इटालीको सबैभन्दा प्रभावित लोम्बार्डी क्षेत्रमा मात्रै १६ हजार दुई सय २० संक्रमित थिए, जसमध्ये १६ सय ४० को मत्यु भयो र आठ सय ७९ इन्टेन्सिभ केयरमा थिए ।

मंगलबारसम्म त्यस क्षेत्रबाट २४ सय ८५ भाइरसमुक्त भएका थिए । संक्रमितको यति ठूलो संख्यालाई हेर्दा, देशको स्वास्थ्य प्रणालीले धान्न नसकेर धराशयी हुने पो हो कि भन्ने डर उब्जिएको छ । बिरामीको अत्यधिक चापले चिकित्सकीय स्रोतमाथि अत्यधिक दबाब सिर्जना भएको छ । उत्तरी इटालीका लोम्बार्डी, भेनेतो, इमिलिया–रोमाग्ना र मार्चमा स्वास्थ्य सेवा प्रणाली ठूलो दबाबमा छन् । चिकित्सकीय कर्मचारीमाथि अत्यधिक कामको चाप परेको छ ।

संक्रमितको ठूलो संख्यालाई मध्यनजर गर्दा इटालीको स्वास्थ्य प्रणालीले धान्न नसकेर धराशयी हुने पो हो कि भन्ने डर उब्जिएको छ ।

भाइरस फैलिरहँदा अन्य क्षेत्रको पनि यही अवस्था देखिन सक्छ । सौभाग्यवश ! लोम्बार्डी सरकार र केन्द्रीय सरकारले १० दिनअघि आक्रामक नियन्त्रणात्मक कदम उठायो । यो हप्ताको अन्त्यसम्म सरकारी कदमको १५ दिन पुग्दै छ । भाइरसको इन्कुबेसन अवधि मानिने यस अवधिमा सरकारी कदम प्रभावकारी भए-नभएको मूल्यांकन हुनेछ । त्यसपछि मात्र भाइरसको विस्तारमा केही कमी आउन सक्छ । तर, त्यसअघि त्यस्तो कुनै सम्भावना छैन ।

बाहिरतिर चिकित्सकमाथि बिरामीलाई छुट्याएर उपचार गर्न दबाब दिइएको हल्ला चलेको छ । तर, मेरो अनुभवमा त्यस्तो देखिँदैन । मेरो अस्पतालमा आवश्यक परेका सबैलाई उपचार गरिएको छ । तर, प्रकोप लामो समय लम्बिएमा हालको अवस्था अन्त्य हुन सक्छ । संक्रमितको संख्यामा ह्रास आएन भने स्रोत साधनले धान्न सक्दैन । त्यो अवस्थामा बढी बाँच्ने सम्भावना भएका बिरामीमा केन्द्रित हुने खालको चिकित्सकीय अभ्यास लागू हुन सक्छ ।

पोलिक्लिनिकमा काम गर्ने मेरा सहकर्मीले ठूलो त्यागको प्रदर्शन गरिरहेका छन् । अहिलेको अवस्थामा सबैभन्दा काम लाग्ने पेसा चिकित्सकको हो भन्ने बोधले हामी आफ्नो थकान र तनाव सहिरहेका छौँ । यस्तो सहनशक्ति कति समयसम्म रहला, म भन्न सक्दिनँ । केही सहकर्मी आफैँ नै कोरोना भाइरसबाट संक्रमित भएका छन् र तिनलाई इन्टेन्सिभ केयरमा राखेर उपचार गरिँदै छ ।

हामी जोखिममाझ काम गरिररहेका छौँ । शल्यक्रियामा आइपर्ने आपत्कालमा संलग्न हुने एनेस्थेसियोलोजिस्टका हिसाबमा म आफैँले कोरोना भाइरसका बिरामीको उपचारमा धेरै त प्रत्यक्ष संलग्न हुनुपरेको छैन । तर, एक बिरामीको उपचारमा त्यस्तो अवसर आएको थियो । कमजोर स्वास्थ्य अवस्थामा रहेका एक वृद्धको ट्युमर शल्यक्रिया गर्नुपर्ने थियो । शल्यक्रिया स्वाभाविक रूपमा सम्पन्न भयो । मैले उनलाई एनेस्थेसिया दिएकाले उनी चार घन्टापछि कुनै पीडाविना उठे । यो मध्यफेब्रुअरीको कुरा हो ।

एक हप्तापछि ती वृद्धमा कोरोना भाइरसका लक्षणमध्ये उच्च ज्वरो, खोकी सुरु भयो । त्यसको केही पछि निमोनिया भयो । अहिले उनी इन्टेन्सिभ निरीक्षणमा अन्त्यन्त नाजुक अवस्थामा छन् । ती वृद्ध पनि ती धेरै मानिसको समूहमा जोडिएका छन्, जो नामबाट बिरामीको संख्यामा बदलिइरहेका छन् । अहिले प्रकोप अन्त्यको सुरुवात होस् भनेर आशा मात्र गर्न सक्छौँ । तर, यथार्थमा त्यो तब मात्र सुरु हुन्छ, जब संक्रमणमा कमी आउन थाल्छ ।

सरकारका नियन्त्रणात्मक कदमप्रतिको जनताको शान्त समर्थन, गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारबाट हासिल हुने अनुभव र नयाँ उपचार विधिका हल्ला आशा बढाउने विषय हुन् । सम्भवतः नियन्त्रणका लागि लिइएका कदमले काम गर्नेछन् । तर, अहिले भने हामी गम्भीर विपत्मा फसेका छौँ भन्नेमा कुनै शंका छैन ।

(मार्को इटालीको मिलानस्थित पोलिक्लिनिक सान डोनाटोका एनेस्थेसियोलोजिस्ट हुन् ।)”via The New York Times”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com