कोरोनाबाट नेपालमा ८ जिल्ला प्रभावित


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

शुक्रबार सार्वजनिक भएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यस अगाडि नै १६ संक्रमित पुष्टि भइसकेको छ। जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारकोक्रममा रहेका छन्।

उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। शुक्रबारको तथ्यांकपछि कोरोनाको संक्रमण पुगेको जिल्लाको संख्या भने बढेको छ। नेपालको ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए।

काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए। शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ। संख्याको आधारमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ। कैलालीमा ४ जना संक्रमित छन्। त्यसपछि पर्सामा ३ जना , बाग्लुङमा २ जना छन्। शुक्रबारै चितवनमा २ जना फेला परेका छन्। रौतहट र कञ्चनपुरमा १(१ जना संक्रमित फेला परेका छन्।

प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ। प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ३ मा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन्। कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com