उदयपुर जिल्लानै सिल !


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आवत जावत बन्द गर्न सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जिल्ला सिल गरेको हो ।

उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो ।

‘भुल्के यस अघि नै सिल गरिएको थियो, मङ्गलबारबाट उदयपुर नै सिल गरिएको छ,’ पहाडीले भन्नुभयो, ‘अब उच्च निगरानी गछौँ । अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई उदयपुरको सबै सिमानामा हेल्प डेक्स राखिएको छ र त्यहीँ स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिइनेछ ।’

जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरी प्रमुख, एसपी वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो । मङ्गलबार भुल्केमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com