रौतहटमा आमाछोरीको मृत्यु


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

राैतहटकाे मौलापुर नगरपालिकामा घरायसी विवादमा विष सेवन गर्दा आमाछाेरीकाे मृत्यु भएकाे छ । विवादपछि छाेराछाेरीसँगै आमाले विष सेवन गरेकी थिइन् । छोराको भने उपचार भइरहेकाे छ ।

मौलापुर नगरपालिका– १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई विष सेवन गराई आफूले पनि सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर गम्भीर अवस्था भएपछि तीनैजनालाई मौलापुरको एक निजी क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो ।

सोनावतीको उपचारको क्रममा राति र छोरीको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सइ आमोदप्रसाद यादवले जानकारी दिए । छोरा दीपकको उपचार भइरहेको र अवस्थामा सुधार भइरहेको सइ यादवले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टम गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com