कोरोनाभाइरस लामो समय रहन्छ,लकडाउन नहटाउन : डब्लूएचओ


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् ।

अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा डा. टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए । ‘महामारीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्रमितको संख्या बढ्दो छ,’ उनले भने, ‘गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहनेछ ।’

उनले थपे, ‘लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’

डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनले महामारीविरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे विश्वलाई चेतावनी दिएको दाबी गरे ।
विश्वका धेरै राष्ट्रका सरकारहरुले डब्लूएचओले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्रश्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताए ।

हालसम्म विश्वमा २६ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । बीबीसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com