श्रमिकहरूकाे कष्टकर दैनिकीप्रति दु:खित छु : प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लकडाउनका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेर मुलुकभित्र कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर दैनिकीप्रति आफू दु:खित रहेकाे बताउनुभएकाे छ ।

उहाँले बितेका १३१ वर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएकाे स्मरण गर्दै भन्नुभएकाे छ, ‘यस दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो ।

श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।’

पछिल्ला केही वर्षयता नेपालमा पनि नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा मे दिवस मनाउँदै अएकाे बताउँदै उहाँले हरेक बर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ रहेकाे बताउनुभएकाे छ ।

अहिले विश्वभरि कोरोना भाइरसकाे महामारीका कारण नेपालमा पनि उत्पादन प्रणालीको कडी टुटेको बताउँदै उहाँले भन्नुभएकाे छ, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

‘अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाईजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com