नेपालीमा अल्कोहलले कोरोना मार्ने भ्रम !


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहलको सेवनले कोरोना भाइरस नमार्ने प्रष्ट पारेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपाली समाजमा अल्कोहलले कोरोना मार्ने भ्रम व्याप्त रहेको चर्चा गर्दै अल्कोहलले कोरोना भाइरस नमार्ने प्रष्ट पार्नु भएको हो ।

अल्कोहलले मानव स्वास्थ्यमा अझ बढी खराबी ल्याउने चर्चा गर्दै उहाँले यस्तो प्रतिकुल समयमा अल्कोहल सेवन गरेर अस्पताल धाउनु पर्ने अवस्थाप्रति सचेत रहन पनि सबैलाई सुझाव दिनुभयो ।

उहाँले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण आरम्भ गरिएको जानकारी दिदै नेपालमा अब १८ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट परीक्षण सुरु भएको बताउनुभयो ।

प्रवक्ता देवकोटाले हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० परीक्षण सम्पन्न भएको र आरडीटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण सम्पन्न भइसकेको जानकारी पनि दिनुभयो ।

उहाँले हाल क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ९९ सय रहेको र आइसोलेसनमा १ सय २० जना रहेको जानकारी दिदै रेडजोनमा रहनेको संख्या ३ सय ३० रहेको बताउनुभयो ।

हाल नेपालमा संक्रमितको संख्या ८२ रहेको र आजमात्र नेपालगञ्जमा ७ संक्रमित फेला परेको पनि प्रवक्ता देवकोटाले बताउनुभयो ।

हाल नेपालमा संक्रमित ८२ मध्ये ६१ पुरुष र २१ महिला रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । नेपालमा संक्रमणबाट निको भएर जानेको संख्या १६ रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com