शान्ति र प्रगतिको पथमा अघि बढ्न प्रेरणा मिलाेस् : राष्ट्रपति


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरू’मा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिन्छ ।

‘आजको यस शुभ दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्नेछ भन्‍ने अपेक्षा गरेको छु,’ राष्ट्रपति कार्यालयद्वारा जारी सन्देशमा भनिएकाे छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोनाभाइरस (कोभिड-१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको पावन अवसरमा एकता, सहिष्णुता, सद्‌भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com