जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमित बढे


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

एजेन्सी/ जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । रोबर्ट कोच इन्स्टिच्युटका अनुसार केही प्रतिबन्धहरू हटाएपछि संक्रमणको रि–प्रोडक्सन रेटमा वृद्धि भएको हो ।

यसको अर्थ एक संक्रमित व्यक्तिले कति जनालाई कोरोना सार्न सक्छ भन्ने हो । अहिले यो दर एकभन्दा बढी रहेको छ । यसको अर्थ जर्मनीमा संक्रमितको संख्या बढिरहेको छ।

जर्मनीमा शनिबार हजारौँ मानिस भेला भएर लकडाउन पूर्ण रूपमा हटाउन माग गरेका थिए । पूर्वजर्मन चान्सलर एन्जेला मर्केलले बुधबार १६ राज्यका नेतासँग छलफल गरेर देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् ।

जर्मनीमा भाइरसबाट मृत्यु हुनेको संख्या अन्य युरोपेली देशको तुलनामा कम भए पनि संक्रमण भने उच्च नै छ । त्यहाँ एक लाख ७९ हजार दुई सय १८ भन्दा धेरै मानिस संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या हालसम्म सात हजार रहेको छ ।

अमेरिकामा ८० हजारको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८० हजार पुगेको छ । भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १३ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । ह्वाइटहाउसले कोरोना संक्रमणबाट प्रभावित व्यक्तिलाई आर्थिक राहत दिने योजनालाई अगाडि बढाएको छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका दुई वरिष्ठ अधिकारी क्वारेन्टाइनमा बसेका छन् । जसमा रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्ड र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन विभागका कमिश्नर स्टिफिन हान रहेका छन् । यस्तै डा. एन्थोनी फाउसी पनि दुई साताका लागि सेल्फ आइसोलेसनमा बस्ने भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com