नेपालमा कोरोनाबाट अर्का एक जनाको क्वारेन्टीनमै मृत्यु , मृतकको संख्या २ पुग्यो


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टीनमा बस्दै आएका थिए । गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताउनुभयो ।

‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो झाडापखाला लगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, प्रवक्ता देवकोटाले भन्नुभयो ।

कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताउनुभयो । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com