पोर्चुगलमा आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने
प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

– हरिकृष्ण पन्थी
पोर्चुगलमा अब आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने भएको छ । आवासीय अनुमतिपत्र नविकरण गर्नुपरेमा अनलाइनबाटै आवेदन दिनसकिने र कोरोनाको महामारीका कारण उत्पन्न ब्याकलग हटाउन यो विधि अपनाइएको सेफले जनाएको छ ।
अनलाइनबाटै नविकरणका लागि आवेदन दिने र स्वीकृत गर्ने प्रकृयाले सेफका शाखाहरुमा गएर आवेदन दिंदा लाग्ने समय र साधनश्रोतको वचत हुने अपेक्षा गरिएको छ । यसबाट साढे २ लाख भन्दा धेरै विदेशी नागरिकलाई फाइदा पुग्ने जनाइएको छ ।
नयाँ प्रकृया सुरु भएपछि अब आवासीय अनुमतिपत्र नविकरणका लागि सर्भिस डेस्क सम्म पनि पुग्नु नपर्ने भएको छ । सेफको वेवसाइटमा गएर फर्म भरेर नविकरणका लागि आवेदन दिन सकिने भएको छ ।
आवेदन प्राप्त भइसकेपछि सेफले ट्याक्स र सोसल सेक्युरिटीका मापदण्डहरु पूरा भए नभएको चेकजाँच गरेर आवेदन स्वीकृत वा अस्वीकृत समेत गर्न सक्नेछ । शुल्क तिरिसकेपछि आवेदकले आफ्नो ट्याक्स फाइल गरेको ठेगानामा आवासीय अनुमतिपत्र प्राप्त गर्नेछन् ।