रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतीकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरे । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको बताए ।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानबिन गर्न माग गरिन् । सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गरिन् भने सांसद महिन्द्रकुमारी लिम्बूले रुकुमपश्चिमको घटनाको छानबिनका लागि सर्वदलीय समिति गठन गर्न माग गरिन् ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतिकरण नगर्न माग गरिन् । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरिन् ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो । नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य दुई जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीन जना बेपत्ता छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com