चौरजहारी घटनाको विरोध


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा  विरेन्द्रनगरमा र्‍याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्‍यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । र्‍यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताए ।

निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गरे । ‘छोरी बचाउ अभियान’ का संयोजक सजना सुनारले जातकै कारण अन्तरजातीय प्रेमका नाममा दलित मारिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भनी प्रश्न गरे । राष्ट्रिय दलित पत्रकार सङ्घका कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले जातकै आधारमा प्रेममा बन्देज लगाउन सामूहिक हत्या गरिएको आरोप लगाए । “रुकुम पश्चिमको घटना इतिहासकै कालो दिन र दलित समुदायमाथिको जघन्य अपराधका रुपमा चित्रित भइरहनेछ”, उनले भने, “यो परिस्थिति निम्त्याउने सबैलाई कानूनी कठघरामा उभ्याउन सिङ्गो दलित समुदाय पुनःएकपटक जुर्मुराउन आवश्यक छ ।” र्‍यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध दलित अगुवाको सहभागिता थियो ।

यही जेठ १० गते चौरजहारीको सोती गाउँमा भएको घटनामा पाँच जनाको मृत्यु हुनाका साथै एक जना बेपत्ता छन् । जाजरकोट, भेरी नगरपालिका रानागाउँका २१ वर्षीय नवराज विक रुकुम (पश्चिम)मा पर्ने सोती गाउँकी मल्ल थरकी आफ्नो प्रेमिकाका घरमा सोही दिन अपराह्न साथीसहित पुगेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com