रुकुम हत्याकाण्ड: आयोगद्वारा घटनाको अनुसन्धान शुरु


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापार्गाइको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।

पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् । “दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”, नवराजका बुवा मुनलाल विकले भने, “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाउन् ।” स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए । उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने, “हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छौँ। यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ ।

स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ । सरकारलाई दिन्छौँ । हाम्रो खबरदारी निरन्तर जारी रहने छ ।” यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com