मधेशी महिलाको सङ्घर्ष : न्याय पाउन पनि पैसा नै चाहिने


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

अमरेन्द्रकुमार यादव /‘कहाँ जायब भाइजी (कहाँ जानुहुन्छ दाइ) ? कोन ठाम जाइके अछी (कहाँ जानुपर्ने छ तपाईंलाई) ?– रिक्साचालक महिलाले प्रश्न गरिन् । म त झसङ्ग परेँ । एक रिक्साचालक महिलाले मीठो र नम्र स्वरमा कहाँ जानुहुन्छ भनेर सोधेपछि । ‘हँ हँ, हमरा अस्पताल लग जैवाक अछी (हो, हो मलाई अस्पतालछेउ जानु छ) भने । अनि रिक्सामा चढेँ ।

‘लिलाबती राम’की आमा उनी जन्मिएको केही वर्ष नबित्दै बितिन् । बुबाले आमाको जत्ति राम्रो हेरचाह गर्न सकेनन् । तर पनि बुवाकै सहारामा पनि हुर्किन् । सानैदेखि उनी छाक टार्नका लागि कामको खोजीमा लागिन् ।

उनले आफ्नो सङ्घर्षको कथा सुनाइन्– मधेसतिरका महिला विदेश जाँदा समाजले नाकारात्म सोच राख्छ । तर मेरो जन्म मोरङ जिल्लाको दुहवी भन्ने स्थानमा मधेसी परिवारमा भएको हो । त्यहाँ अधिकांश पहाडी समुदायका मानिसको बसोवास छ । त्यहाँका धेरै महिला वैदेशिक रोजगारीमा जान्छन् । त्यसै आशामा उमेर पुग्ने वित्तिकै म नागरिकता बनाउने तरखरमा लागेँ ।

नागरिकता बनाएपछि पासपोर्ट (राहदानी) पनि बनाइहालेँ । गाउँमा आयआर्जन र जीविकोपार्जनका लागि कुनै साहारा नभेटेपछि स्थानीय एजेन्ट मार्फत वैदेशिक रोजगारीका लागि करिब ११ वर्ष पहिले कुवेत गएँ । कुवेतमा धनुषा लखौरीका एक पण्डित थरका व्यक्तिसँग प्रेम विवाह गरेँ । उनले स्वजाति हुँ भनेर मसँग विवाह गरे ।

विदेश बसाइको क्रममा आफूले कमाएको करिब ९ लाख बराबरको रकम पनि लखौरीका पण्डितले ठगे । पछि आफ्नै कमाइबाट धनुषाको लखौरीमै ४ कठ्ठा १० घुर जमिन किने । लिलाबतीले भनिन्,– ‘सुरुमा त खुब प्रभोलन दियो पण्डितले, बिहे गर्छु भनेर पैसा ठगे र सँगै बस्नलाई जमिन किन्छु भनेर जमिन पनि किने तर त्यो पनि ठग्यो ।

कुवेतमा रहँदा उनले आफ्नो सबै परिचय दिएका थिए । मलाई तिमी नेपाल जाऊ भनेर उक्सायो । म नेपाल आएँ । जनकपुरमा कहिले पनि त्यसअघि आएको थिइनँ । पहिलो पटक आए पनि सोध्दासोध्दै उनले दिएको परिचय अनुसार उसको घर पनि गएँ तर उसका परिवारले नीच जात भन्दै घरमा पस्नै दिएनन् । विचल्लीमा परेँ र फेरि आफ्नै गाउँ दुहबी फर्कें । विदेशमा हँुदै बुबा समेत बित्नुभयो ।

बुबा पनि गुमाएकी लिलाबतीलाई दुहबीमा जीवन निर्वाह गर्न त्यति सहज भएन र उनी फेरि जनकपुर अइन् । जनकपुर आइन् तर काम केही नहुँदा हातमुख जोर्न धौधौ पर्यो । उनी विच्चलीमा परिन् । उनलाई गाँस र बासको नै समस्या पर्यो ।

लिलाबतीले बस्ने ठाउँ समेत नपाउँदा पीडा सुनाउँदै भनिन्– ‘कामको खोजीमा एक महिलासँग भेट भयो । उनले मलाई एक गैरसरकारी संस्थामा लगिन् । त्यस संस्थाले रिक्सा चलाउन तालिम दियो । अहिले रिक्सा चलाएर जीवन निर्वाह गर्दै आएकी छु । केही यात्रुलाई बसाएर दैनिक ४/५ सयसम्म कमाइ पनि हुन्छ ।

१३ महिनाको छोरा अनिश पण्डितलाई तालिम दिएकै कार्यालयमा छाडेर बिहान १० बजे रिक्सा लिएर निस्कने गर्छिन् । उनी भन्छिन्– ‘काखको बच्चा अरुको सहारामा छाडेर रिक्सा चलाउन कहाँ सहज छ र ? तर अनिशको भविष्यका लागि छोडेर हिँड्नु मेरो बाध्यता हो । दिनमा ५ सयदेखि १५ सयसम्म कमाइ हुन्छ । बेलुका ५ बजेसम्म रिक्सा चलाउँछु र फर्केर छोराको स्यहार सुसार गर्छु ।”

मिथिला पवित्र धार्मिक स्थल हो । यहाँ देवताकै पालादेखि नारीको उच्च सम्मान हुन्छ भन्ने कथन छ । तर अहिले त्यस्तो अवस्था छैन । यहाँका कतिपय महिला जीवनबाट हरेस खाएर गलत काम लाग्छ र कतिपयले आत्महत्यासम्म गरेका छन् । आत्महत्या नै त्यसको उपाय होइन, त्यही भएर महिलालाई आफनो खुट्टामा उभिन सिक्न जान्नुपर्छ । आफनै हिम्मत जुटाएर अगाडि बढनुपर्छ, आफूलाई त आमाले बाल्यकालमै छाडेर गइन् । बुबाले पढाउन सक्नु भएन । अहिले रिक्सा चलाउनु र मजदुरीबाहेक केही विकल्प छैन ।

जीवन निर्वाहका लागि कैयौं महिलाले जनकपुरमै अनैतिक क्रियाकलापमा संलग्न भएका छन्– भन्दै उनले थपिन– ‘त्योभन्दा राम्रो मिहिनेत गरेर कमाउनु नै राम्रो हो । मिहिनेतको सबैले सम्मान गर्छन् । त्यो कमाइले मात्र जीवन सुखमय बन्छ । रोजगारको विकल्प देहव्यपार होइन, जसले जीवनमा जति कमाएपछि सुखको अनुभूति भने कहिले गर्न सकिँदैन र अकालमै घातक रोगको शिकार भई ज्यान गुमाउनु पर्छ । भोलिको दिनमा जनकपुर र मधेसमा महिलालाई काम गरेर देख्दा नाकारात्मक सोचाइ राख्नेहरुमा परिवर्तन ल्याउने सक्छु ।

उनले रकमसहित जमिन ठग्ने पण्डितविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी छन् । “न्यायका पाउन पनि पैसा नै चाहिँदो रहेछ । त्यसको निम्ति पनि रिक्सा चलाइरहेको छु ।” उनले भनिन्, ‘छोरा र मलाई जीवनयपानका व्यवस्था गरोस् कि मलाई झुक्याएर ठगेको रकम र जमिन फिर्ता गरोस् । अनि छोराको जन्मदर्ता पनि गर्नुपर्यो । ताकि भोलि यो छोरा कसको भनेर कसैले प्रश्न उठाउन नसकोस् । त्यसको निम्ति न्यालयलाई गुहारिहेको बताइन् । राताे पाटीबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com