हामी सधै चुप बस्नुपर्ने ?
प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

– मनोज पोख्रेल
तपाईं हाम्रो पेसा राजनीति नहोला तर हामी नेपाली नागरिक भएकोले देशको चिन्ता र माया हुनु स्वभाविक हो । त्यसैले देशको बेथिति र अन्यायबिरुद्ध आवाज उठाउनु आवश्यक छ ।
देशको सम्पूर्ण कानूनी र संवैधानिक अधिकार सबैलाई बराबर हुन्छ । चाहे त्यो उच्च जिम्मेवारी पाएको शासक नै किन नहोस् । अहिलेको शान्तिपूर्ण नागरिक स्वतन्त्रता र अधिकारको आन्दोलनलाई नबुझी सत्ताधारी नेतृत्वले सम्बोधन नगरेमा यसको परिणाम भयानक हुनसक्छ ।
नागरिकको अधिकारलाई रक्षा गर्ने र कोरोनाको महामारीबाट जनतालाई बचाउने राज्यको मुख्य जिम्मेवारी हो । त्यो जिम्मेवारीबाट सत्ता संचालकहरुले पन्छिन खोज्नु मुर्खता मात्रै हो । नेपाली नागरिकलाई मुर्ख नठानौं, नेपाली नागरिक चेतनशिल छन् ।
अब नेपाली जनता उखान टुक्कामा भुल्न र ठट्यौली गफ पत्याउन छाडिसके । नेपाली राजनीतिलाई नजिकबाट भोग्दै, देख्दै, बुझ्दै, पढ्दै, जोडिदै र संघर्ष गर्दै आएका नागरिकलाई के सहि के गलत छुट्टाउन आउँछ ।
हामी सबै नेपाली नागरिकको चाहाना देशको राजनीति पुर्णरुपमा अनुशासित ,व्यवस्थित र परिमार्जित होस् भन्ने नै हो । नेपाली नागरिकको त्याग र संघर्षबाट जनताको चाहेको परिवर्तन प्राप्त हुन सकेन । बरु देशमा गैरजिम्मेबार नेताहरुको मनोमानी बढ्यो । देश व्यक्तिगत स्वार्थ पूरा गर्ने मैदान बन्यो ।
शासकहरु पुर्णरुपमा असफल, स्वार्थी र भ्रष्ट हुन पुगे ।
विश्वमा कोरोनाको महामारी फैलिंदा झण्डै ३ महिनाको अवधिमा नेपाल सरकारले के तयारी गर्यो ? नेपालमा ७० दिन लकडाउनमा कैयनले आत्महत्याको बाटो रोजे । १४ जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टी भयो ।
कर कहाँबाट तिर्ने ? बैंकको ब्याज कसरी तिर्ने ? घरभाडा कसरी तिर्ने ? जनताहरु निर्विकल्प र अन्यौलग्रस्त छन् । विदेशीले दान दिएको किटबाट परिक्षण गरेर , गोठ, स्कुल र चौरमा सुताएर ७० दिनमा १० अर्ब खर्च कसरी भयो ? जनतालाई यी प्रश्नको जवाफ मिलेको छैन । जनता रोगले भन्दा भोकले मर्ने अवस्था छ ।
यस्तो अवस्थाको विरोध गर्दा राजनीति र दलालीबाट कमाउन पल्केकाहरुले इमान्दार नागरिकको आवाजलाई विभिन्न ढंगले आरोपित गरिरहेका छन् । यस्तो अवस्थामा सरकारलाई जिम्मेबार बनाउने कि विरोध गर्नेहरुलाई लाञ्छना लगाउने ?
पोख्रेल जनप्रगतिशिल मञ्च पोर्चुगलका पूर्व महासचिव हुन् ।