सजिलो छैन नेपाल एयरलाइन्स अमेरिका आउन


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

– किशोर पन्थी

केही दिन अगाडि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपालीहरु ल्याउने सम्बन्धमा एउटा तालिका निकाल्यो । यो तालिका परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा रहेका दूतावास र कन्सुलेट कार्यालयहरुमा पठाइएको थियो ।

यो तालिकामा जुन २५ मा अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फिर्ता लैजानका लागि नेपाल एयरलाइन्सको विमान आउने उल्लेख गरिएको थियो । तर यो तालिका प्रकाशन भए लगत्तै वासिंटन डिसीमा रहेको नेपाली दूतावासले यसलाई खारेज गर्दै भन्यो – ‘अमेरिका आउने उडानको मिति, एयरलाइन्स र भाडादर तय भएको छैन ।’

वास्तवममा अहिलेको अवस्थामा तालिकामा उल्लेख भएजस्तै गरी नेपाल एयरलाइन्सको विमान अमेरिका आउन सहज छैन । नेपालबाट अमेरिका आउनका लागि नेपाल एयरलाइन्सले युरोपको आकाश प्रयोग गर्नुपर्छ । तर नेपाली एयरलाइन्सहरुलाई युरोपको आकाश हुँदै उड्नमा प्रतिबन्ध लगाइएको छ ।

सन् २०१३ देखि युरोपियन युनियनले नेपाललाई हवाई सुरक्षा सुची अर्थात् कालो सुचीमा राख्दै आएको छ । जसका कारण नेपालमा दर्ता भएका कुनै पनि एयरलाइन्सहरुलाई युरोप आउन वा युरोपको आकाश प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध नियमित यात्रुवाहक विमानमा मात्र होइन, चार्टड विमानमा समेत लगाइएको छ ।

यस्तो प्रतिबन्ध नहट्दासम्म नेपालमा दर्ता भएका कुनै पनि एयरलाइन्सहरु युरोप आउन वा युरोपको आकाश प्रयोग गर्न नपाउने भएकाले नेपाल एयरलाइन्स अहिलेको अवस्थामा युरोपको आकाश प्रयोग गरेर अमेरिका आउन सम्भव नभएको विज्ञहरुको भनाई छ । यस्तो प्रतिबन्ध हटाउन अझै एकडेढबर्ष सम्भव नभएको बताइन्छ ।

महामारीको कारण देखाउँदै नेपालले आकस्मिक अवस्थाका लागि युरोपको आकाश प्रयोगका लागि अनुमति माग्नसक्ने कतिपयको राय छ । तर अहिलेसम्म नेपालले युरोपियन युनियनसँग त्यस्तो प्रस्ताव नगरिसकेको र प्रस्ताव गरेपनि तत्कालका लागि त्यो सम्भावना नरहेको विज्ञहरु बताउँछन् । किनभने नेपालमा दर्ता भएका एयरलाइन्सको साटो विदेशी एयरलाइन्सहरु चार्टड गर्न सकिने विकल्प रहेकाले इयुले नेपाली एयरलाइन्सलाई तत्कालै युरोपको आकाश प्रयोग गर्न दिने सम्भावना छैन ।

केही पहिले नेपाल एयरलाइन्स अष्ट्रेलियनहरुलाई बोकेर अष्ट्रेलिया गएको थियो । नेपाल एयरलाइन्सले यस्तो प्रस्ताव युरोपसमक्ष पनि राखेको थियो । तर युरोपले नेपाल एयरलाइन्सको प्रस्ताव अस्वीकार गरेर कतार एयरवेजमाफर्त आफ्ना नागरिकहरु युरोप ल्याएको थियो । अष्ट्रेलिया जाने क्रममा युरोपको आकाश प्रयोग गर्न नपर्ने भएकाले नेपाल एयरलाइन्स अष्ट्रेलियाको अनुमतिमा त्यहाँ जान सम्भव भएको हो ।

कतिपयले नेपाल एयरलाइन्सको युरोपको आकाशको साटो प्यासेफिक रुट प्रयोग गरेर अमेरिका आउनसक्ने तर्क समेत गरेका छन् । तर लामो प्यासेफिक रुट प्रयोग गरेर अमेरिका आउनका लागि समेत अमेरिकाबाट अनुमति लिन जरुरी हुन्छ । जुन प्रकृया रातारात सम्भव नहुनसक्छ ।

विगतमा अमेरिकाले आफ्ना नेपालमा रहेका नागरिकहरुलाई अमेरिका ल्याउनका लागि कतार एयरवेज नै रोजेको थियो । नेपालका एयरलाइन्सलाई युरोपियन युनियनले कालो सुचीमा राखेकै कारण र अमेरिका आउँदा नेपालका एयरलाइन्सले युरोपको आकाश प्रयोग गर्न नपाउने भएका कारण नै अमेरिकाले नेपाल एयरलाइन्समाथि भरोसा नगरेको हो । यसर्थ प्यासेफिक रुट हुँदै नेपाल एयरलाइन्स अमेरिका आउनका लागि अमेरिकाले रातारात अनुमति दिने विश्वास गर्न मुस्किल छ । अर्कातर्फ नेपालले अहिलेसम्म स्वीकृतिका लागि कुनै औपचारिक प्रकृया सुरु समेत गरेको छैन ।

तर नेपालले पहल गरेर युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई युरोपको आकाश हुँदै अमेरिका आउन दिएमा वा अमेरिकाले प्यासेफिक रुटबाट भएपनि नेपाली एयरलाइन्सलाई अमेरिका आउन दिएमा भने नेपाली एयरलाइन्सहरुलाई कालोसुचीबाट हटाउने दिशामा सकारात्मक पहलकदमी हुने कुटनीतिज्ञहरु बताउँछन् । नेपाली एयरलाइन्स अष्ट्रेलिया गइसकेको सन्दर्भमा अमेरिकाले पनि अमेरिका आउन अनुमति दिएको खण्डमा त्यो युरोपका लागि समेत दवाव हुनसक्ने कुटनीतिज्ञहरु बताउँछन् ।

किन राखिएको छ कालो सुचीमा ?

नेपालमा धेरै हवाई दुर्घटना भए भन्दै नागरिक उड्डयन सङ्गठन आइकाओले यो विषयलाई अगाडि ल्याएको हो । मुख्य विषय दुर्घटनाबाट आएपनि विभिन्न प्राविधिक कठिनायी र कमजोरीहरुको कारणले आइकाओले नेपाललाई सुचीमा राखेको थियो । सन् २०१३ बाट युरोपियन युनियनले नेपाललाई हवाई सुरक्षा सुचीमा राख्यो ।

उक्त सुचीबाट हटाउने सन्दर्भमा नेपालका तर्फबाट विभिन्न प्रयत्नहरु हुँदै आएका छन् ।

पछिल्लो अवस्थाको कुरा गर्दा दुईतीनवटा विषयहरु मुख्य विषयका रुपमा रहेका छन् । मुख्यतया, युरोपियन युनियनले राखेको शर्त वा आग्रह र अरु देशहरुको अनुभवलाई हेर्दा हवाई सुरक्षामा अर्थात् नेपालको आकाशलाई सुरक्षित गर्नका लागि नेपालले गर्नुपर्नेमध्येको मुख्य काम कानुनको निर्माण भएको कुरा युरोपियन युनियनका तर्फबाट भनिदै आएको छ ।

नेपालको हवाई सेवा ऐन २०१५ देखि एउटै रहदै आएको छ । त्यसले नियामक र सेवाप्रदाय ९ रेगुलेटोरी र अपरेशनल० निकायलाई छुट्याएको छैन ।

विश्वका सबैका देशहरु नियमन गर्ने र सेवा प्रदान गर्ने दुईवटा छुट्टा छुट्टै अंग हुनुपर्छ भन्ने ढंगले अगाडि आएका छन् । तर नेपालमा अहिलेसम्म त्यस्तो छैन । त्यसैले आगामी दिनमा नेपालले कार्यक्षेत्र छुट्याउनेगरी ऐन ल्याउन जरुरी छ ।

मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदाय दुईवटा निकाय बनाउनेगरी ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिइसकेको छ । नेपालको पर्यटन मन्त्रालयले पनि त्यसतर्फ काम गरिरहेको छ ।

त्यो भएमा हवाई सेवाका दुईवटा विभाग छुट्टिन्छन् । र मुख्य कानुनी अड्चन पनि हट्नेछ ।

त्यो बाहेक अन्य प्राविधिक कुराहरु पनि छन् । हवाई क्षेत्रलाई कसरी सुधार गर्ने र कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा युरोपियन युनियनले दिएका चेकलिष्ट नै छन् । त्यतातिर नेपालका तर्फबाट धेरै प्रगति पनि भएका छन् ।

ऐन आइसकेपछि युरोपियन युनियनले दुईवटा विभागको क्षमता अभिवृद्धिका लागि पनि सहयोग गर्ने निर्णय भइसकेको छ । ऐन बनाइसकेपछि नेपालको प्राविधिक टोलीले युरोपमा आएर युरोपियन प्राविधिक टोलीसँग बसेर नेपालका तर्फबाट भएका प्रगतिका बारेमा छलफल गर्नेछ र प्रगति विवरण बुझाउनेछ ।

त्यसपछि युरोपियन युनियनबाट हवाई सुरक्षाको टोली नेपालमा गएर प्रत्यक्ष रुपमा नेपालका तर्फबाट भएका प्रगतिहरु हेर्नेछ । उक्त टोलीले दिएको रिपोर्टको आधारमा युरोपियन आयोगमा रहेको हवाई सुरक्षाबारेको कमिटिले नेपाललाई सुचीबाट हटाउने निर्णय गर्नसक्छ ।

त्यो ऐन संसदले पारित गर्न सकेमा र युरोपियन युनियनका तर्फबाट औंल्याइएका केही प्राविधिक समस्याहरु समाधान गर्न सकेमा नेपाललाई छिट्टै सुचीबाट हटाउन सम्भव हुनेछ ।

युरोपियन युनियनमा बर्षमा दुईपटक त्यस्तो हवाई सुरक्षाबारे बैठक हुन्छ । एउटा मे महिनामा हुन्छ भने अर्को नोभेम्बरमा हुन्छ । यो बर्ष नेपालको कुनै तयारी नभएका कारण र कोरोनाको महामारीका कारण यो विषयले प्रवेश पाउन मुस्किल छ । तर अर्को बर्षको मे महिनामा नेपालले प्रकृया अगाडि बढाउन सकेमा नोभेम्बरमा हुने बैठकबाट नेपाली एयरलाइन्सलाई सुचीबाट हटाउन सकिने सम्भावना रहन्छ ।

उचित विकल्प के ?

अहिलेका लागि सहज र उचित विकल्प विदेशी एयरलाइन्स नै चार्टड गरेर अमेरिकामा रहेका नेपालीहरु नेपाल लैजानु हो । त्यो बाहेक अमेरिकाको शिकागो र टेक्सासबाट कतार एयरलाइन्सको दोहाका लागि नियमित उडान समेत भइरहेकाले एयरलाइन्ससँग मिलेर दोहासम्म नियमित उडानमार्फत र दोहाबाट कतार एयरवेजको चार्टड विमानबाट पनि नेपालीहरुलाई नेपाल लैजान सकिन्छ । कतार एयरवेजले जुन १९ बाट न्युयोर्कबाट समेत दोहाका लागि उडान गर्दैछ ।

नेपालमा रहेका कैयन अमेरिकनहरु कतार एयरवेजको समन्वयमा दोहासम्म कतार एयरवेजको चार्टड विमानमार्फत र त्यहाँबाट अमेरिकासम्म नियमित उडानबाट आइरहेका छन् । त्यसका लागि कतार एयरवेजले ट्राभल एजेन्सीसँग मिलेर दोहाबाट नियमित उडानमा ट्रान्सफर गर्ने बन्दोबस्त समेत मिलाइरहेको छ । यसरी नै निश्चित दिन तोकेर अमेरिकाबाट दोहासम्म नियमित उडानबाट लगेर दोहाबाट काठमाडौंसम्म चार्टड विमानमा ट्रान्सफर गर्न सकिने विकल्प रहेको छ ।

कतार एयरलाइन्सबाहेक अन्य एयरलाइन्ससँग पनि यही तरिकाले समन्वय गरेर अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान सकिन्छ । जुन उपाय सहज, सस्तो र छरितो समेत हुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com