कोरोना जाँचमा पहिलो काठमाडौँ, दोस्रो जुम्ला


प्रकाशित मिति : असार १, २०७७ सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पीसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्‍गल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पीसीआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पीसीआर परीक्षणको तथ्याङ्‍क सार्वजनिक भएको उनले बताए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्‍कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पीसीआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगन्‍जमा ६ हजार ५०० को पीसीआर भएको छ । त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ६ हजार ४५१ जना, कोसी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले ६ हजार ३६१ जना पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पीसीआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पीसीआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पीसीआर मेसिनबारे पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिस्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरस परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पीसीआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् ।

रजिस्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले भीटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिस्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ चिकित्सक परिचालन गरिएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com