लिम्पियाधुरासहित नेपालको नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित कालापानी, लिपुलेकको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभामा बिहीबार प्रतिनिधिसभाले गत शनिबार सर्वसम्मत पारित गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको विधेयक राष्ट्रियसभामा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् । त्यसलगत्तै राष्ट्रियसभामा विधेयकमाथिको छलफल सुरु भएको थियो । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष गरेकी थिइन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक निर्णयार्थ पेस गरेका थिए ।

५७ जना सांसद बैठकमा उपस्थित भएका थिए । मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा ५७ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । सबै सांसदले विधेयकको पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित भएको घोषणा गरे ।

अब राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधि सभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ ।  गत जेठ ७ गते सरकारले लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com