नेपालकाे जनसंख्या आजदेखि ३ करोड नाघ्याे : तथ्यांक विभाग


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

आजदेखि नेपालकाे कुल जनसंख्या ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हाे । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

विश्वमै जनसंख्या घडीकाे प्रचलन रहेकाे पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या घडीले नेपालकाे जनसंख्या आजबाट तीन करोड नाघेको देखाएकाे हाे ।

विभाग स्राेतका अनुसार मध्यजनसंख्या सिद्धान्तकाे अाधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लाे समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।

नेपालमा पहिलाेपटक विसं १९६८ सालमा जनगणना सुरू भएकाे थियाे । त्यसयता प्रत्येक १० वर्षकाे अवधिमा राष्ट्रिय जनगणना हुँदै आएको छ । अर्काे राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागकाे याेजना रहेकाे छ । विभागले हरेक जनगणनाकाे बाह्रौं श्रृंखला २०७८ सालकाे जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com