‘तपाईंलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ, आत्मसमर्पण गर्नुस्’
प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार
विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान लडाइँ चलिरहेकै थियो । सारा विराटनगर काँग्रेसको कब्जामा छ । सरकारी फौज खाली बडाहाकिम उत्तम शमशेर राणाको निवासमा मोर्चाबन्दी कसेर पसेको छ । बम बनाएर त्यसलाई उडाउने र शक्तिशाली मोर्टार प्रहार गरेर ध्वस्त बनाउने उपाय नाकाम भएपछि एउटा ट्याक्टरलाई स्थानीय मेकानिक्सले ट्याङ बनाए र बडाहाकिम निवासको पर्खाल भत्काएर आक्रमण गर्ने तयारी भयो ।
बीपी आफैले माइकिङ सुरु गरे, “बडाहाकिम तपाईंलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ । आत्मसमर्पण गर्नुस् । गर्नुभएन भने मुक्तिसेना जुनसुकै बेला घरभित्रै प्रवेश गर्न सक्छ । त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली काङ्ग्रेस हुनेछैन ।” क्षणभरको माइकिङपछि घरभित्रबाट सेतो झण्डा देखियो, अर्थात् आत्मसमर्पण ।
बडाहाकिमले आत्मसमर्पण गरे भनेपछि मुक्तिसेनाका कमान्डर याक्थुम्बा नेतृत्वको टोली दौडिएर भित्र जाँदै थियो । बडाहाकिमका एक जना छोरा, केही पैसा लिएर सहयोगीका साथ उत्तरपट्टि भाग्दै थिए । मुक्तिसेनाको गोलीबाट ती मारिए । उनका अर्का छोरा पनि घाइते भएर भर्याङमुनि लडेका थिए । उनलाई टेक्दै जवानहरू माथिल्लो तलामा उक्लिन थाले । विराटनगर मोर्चामा पोलिटिकल कमिसनारको हैसियतमा खटिएका गिरिजाले लेखकसँग भनेका छन्, “बडाहाकिमले आत्मसमर्पण गर्यो भनेर उसलाई गिरफ्तार गर्न म पनि दौडिएर निवासभित्र जाँदै थिएँ । उताबाट गोली आयो, हुत्तिएर म धकेलिएँ । बालबाल बचें ।
अलिकति मात्र ढिलो गरेको भए, त्यहीँ मारिन्थेँ होला ।” कमान्डर याक्थुम्बासँगै दौडिएर बडाहाकिमको घरभित्रै पुगेका श्याम तामाङ लेख्छन्, “त्यहाँ मसानघाट जस्तै सुनसान थियो । कसैले सास फेरेकोसम्म पनि सुनिँदैनथ्यो ।” बीपीले भनेका छन्, “म दौडिँदै पुगेँ । हाम्रा मानिस एकदम भयानक किसिमले दौडिँदै त्यहाँ पुगेका थिए । क्रोधमा थिए, के गर्लान्, के गर्लान् भन्ने लाग्यो । सेतो झण्डा देखाएपछि त तिनीहरूलाई हामीले संरक्षण दिनुपर्ने ।”
मुक्तिसेनाले विराटनगर कब्जा गरेपछि उद्धारका लागि सरकारले काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा फौज पठाएको थियो । तर यातायातको सुविधा नभएको त्यो समयमा नेपालको एक भागबाट अर्को भाग पुग्नसमेत भारत हुँदै यात्रा गर्नुपथ्र्यो । भारतले सशस्त्र फौजलाई आफ्नो रेल प्रयोग गर्ने अनुमति दिएन । राणाफौज पैदलै विराटनगर पुग्न सहज थिएन ।
जाडोको समय थियो । बीपी हतारहतार घरको माथिल्लो तलामा उक्लिए । त्यहाँ देख्छन्, “बडाहाकिमकी श्रीमती र तीन चार छोरीहरू चोकमा डरले थर्थर काँपेर बसिरहेका छन् । त्यो साँझ जस्तो सङ्कट उनीहरूलाई जीवनमा कहिल्यै आइलागेको थिएन ।” याक्थुम्बा चाहिँ रिसले आगो हुँदै नकाटी छाड्दिन भनिरहेका थिए । उनी बडाहाकिमलाई भन्दै थिए, “तीन सेकेन्डभित्र तल बैठकमा नआए म स्वयम् माथि आइपुग्नेछु ।” केहीबेरमै सेतो कमिजसुरूवाल लगाएका बडाहाकिम दयाको भीख माग्दै बैठक कक्षमा पुगे । काँधमा कारबाइन राइफल र हातमा नाङ्गो खुकुरी समाएका याक्थुम्बा बडाहाकिमका लागि काल बनेर पुगेका थिए । रिसको आवेगमा उनले बडाहाकिमलाई मारिहाल्छन् कि भनेर बीपी भयानकसँग रिसाए ।
आत्मसमर्पण गरेको मानिसलाई काट्ने रु बीपीले बडाहाकिमकी श्रीमती र छोरीहरूलाई आश्वासन दिए, “तपाईंहरू नडराउनुस् । म तपाईंहरूमाथि केही हुन दिन्नँ ।” याक्थुम्बा यति आवेगमा थिए कि हातको नाङ्गो खुकुरी देखाएर भनिरहेका थिए, “नकाटी छोड्दिनँ ।” बीपीले याक्थुम्बालाई घचेटेर अलि पछाडि पुर्याए । बीपीले भनेका छन्, “त्यसले रिसमा जोसिएर त्यहाँको एउटा खम्बामा हानेको खुकरी त्यहाँ अड्कियो र थरर्र हल्लिन थाल्यो । त्यति क्रोधमा आएको थियो याक्थुम्बा ।”
मुक्तिसेनाले विराटनगर कब्जा गरेपछि उद्धारका लागि सरकारले काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा फौज पठाएको थियो । तर यातायातको सुविधा नभएको त्यो समयमा नेपालको एक भागबाट अर्को भाग पुग्नसमेत भारत हुँदै यात्रा गर्नुपथ्र्यो । भारतले सशस्त्र फौजलाई आफ्नो रेल प्रयोग गर्ने अनुमति दिएन ।
राणाफौज पैदलै विराटनगर पुग्न सहज थिएन । सरकारी फौज पुग्यो भने मुकाबिला गर्न सकिँदैन भनेर मुक्तिसेनाले कोसी तर्न नदिने रणनीति बनायो । कोसी किनारको एउटा टापुमा मुक्तिसेनाको टुकडी राखिएको थियो । राणाफौज कोसी तर्न नसकोस् भन्नका लागि सप्तरीका सबै नाउ मोरङतर्फ ल्याइएका थिए । केही नाउ भने क्रान्तिकारीले नदीमा बगाइदिए । राणाफौजको चियो गरी विराटनगरमा तत्काल खबर गर्ने काममा भारतीय समाजवादी कार्यकर्ता डा। कुलदीप झा खटिएका थिए । एक जना सहयोगी र साइकल उनलाई दिइएको थियो ।
सिङ्गो कोइराला परिवार क्रान्तिमा होमिएको थियो । सुप्रिम कमान्डर मातृकाले कान्छा भाइ गिरिजालाई कोसी मोर्चामै खटाएका थिए । उनले गिरिजालाई भनेका थिए, “क्रान्तिमा जनताले दुःख नपाऊन्, हाम्रो सेनाले जथाभावी नगरोस् भनेर हेर्ने जिम्मेवारी तिम्रो हो । कुनै निर्णय लिनुपर्दा सैन्य कमान्डर याक्थुम्बासँग सल्लाह लिएर काम गर्नू ।” गिरिजाले लेखकसँग भनेका छन्, “कोसी किनारामा गाई चराउने मानिसहरूले खबर गरे । राणाको सेना नदी पार गर्न खोज्दै छ ।” चिसोे याम भएकाले मुक्तिसेनाका सिपाहीहरू आगो तापेर गाउँमा बसिरहेका थिए । गिरिजाले याक्थुम्बालाई भने, “उनीहरू आए भने त रोक्नुपर्यो नि १ उनले भरूवा बन्दुक दिएर पठाएछन् केही सिपाहीहरू । मैले भनेँ, “ए यस्तो बन्दुकले कसरी लड्न सक्छन् उनीहरू रु उनले भने– यिनीहरू अनुभवी छन्, सक्छन् ।”
मुक्तिसेनाका बाँकी जवानहरू आगो तापेर बसे । आगो बलेको देखेर राणाफौज त्यतै आउन थाल्यो । मुक्तिसेनाका जवानहरूले फायर खोलिहाले । कसैको तिघ्रामा लाग्यो । कसैलाई कता लाग्यो । कोही भागे । कोही रगतले लतपत भए । यस्तै त रहेछ भनेर उनीहरू ढुक्क भए । राणाफौज इनरूवातिर लाग्यो ।
गिरिजा र याक्थुम्बाले दुई कुनामा बसेर मुक्तिसेनाको परिचालन गर्ने सल्लाह गरे । मुक्तिसेनालाई आदेश नहुँदासम्म फायर नखोल्नू भनिएको थियो । उता, राणाफौजको चियो गर्न बसेका कुलदीप झा एकदमै ठूलो आँधी आए जस्तो गरी धूलो उडेको देखेपछि आत्तिए । राणाफौज एकदमै नजिक आइसक्यो भन्ने लाग्यो उनलाई । खबर गर्ने समय नै भएन । कुलदीपले आफूसँग भएको राइफलबाट फायर खोलिदिए । संयोगवश घोडामा सवार पल्टनको क्याप्टेनलाई नै गोली लाग्यो । दोहोरो गोली हानाहान भइहाल्यो । कुलदीप मारिए । उनको एक फायरले राणाको पूरा पल्टनमा भागाभाग चल्यो । बीपीले भनेका छन्, “भीमनगरतिरबाट उनीहरू भारतीय इलाकातर्फ भागे । उनीहरूले राइफल छोडिदिए । उनीहरूबाट हाम्रा सेनाले नौ ओटा स्टेनगन र धेरै राइफल लुटे ।”