अस्ट्रेलियाको भिक्टोरिया राज्यमा २४ घण्टामा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गत २४ घण्टाको अवधिमा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो सङ्ख्या कोरोना संक्रमण शुरू भएपछि भिक्टोरिया राज्यमा एकै दिनमा भेटिएको सबैभन्दा उच्च सङ्ख्या हो।

सो राज्यमा गत मङ्गलबार कोरोना संक्रमित हुनेको सङ्ख्या ३ सय ७४ रहेको थियो। त्यसैगरी आजै दुईजना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले आज पत्रकार सम्मेलनमार्फत् यो सङ्ख्याको पुष्टि गरेका हुन्। आज भेटिएका संक्रमितहरूमध्ये ९७ जनाको कोरोना श्रोत पत्ता लागिसकेको तथा ३ सय ८७ जनाको श्रोतको खोजि भइरहेको छ।

मेलबर्नमा मास्क अनिवार्य

भिक्टोरिया राज्यको मेलबर्न महानगर तथा मिचेलसायर क्षेत्रमा बुधबार मध्यरातदेखि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ। सो इलाकाहरूमा मास्क अथवा स्काफ वा अन्य कपडाले मुख छोपेर मात्र घरबाहिर निस्कन पाइनेछ। यो नियम १२ वर्षभन्दा माथिका सबै मानिसले पालना गर्नुपर्नेछ।

सो नियमको उल्लङ्घन गरेको पाइएमा तत्कालै दुई सय अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सकिने नियम रहेको राज्य सरकारले जनाएको छ।मेलबर्नमा हाल जारी लकडाउनले गर्दा मेलबर्नवासीहरू केवल खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्छन्। त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउँछन्। अस्ट्रेलियामा हालसम्म १२ हजार २ सय ६७ कोरोना संक्रमित फेला परेको सरकारी तथ्याङ्क छ।

तीमध्ये ६ हजार २ सय ८९ भिक्टोरियामा, ३ हजार ४ सय १० न्यूसाउथवेल्समा, १ हजार ७२ क्वीन्सल्याण्डमा, ४ सय ४४ दक्षिण अस्ट्रेलियामा, ६ सय ५१ पश्चिम अस्ट्रेलियामा, २ सय २७ तास्मेनियामा, १ सय १३ क्यानबेरामा तथा ३२ जना नर्दन टेरिटोरीमा भेटिएका छन्। साथै तीमध्ये १ सय २८ जनाको मृत्यु भइसकेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com