न्यु मिडिया:सबैजसो दुर्व्यवहार महिलामाथि
प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार
अनलाइन मिडियामार्फत हुने दुर्व्यवहारका लगभग सबैजसो पीडित महिला छन् । सोसल मिडिया भनिने यी माध्यमबाट परिचय लुकाएर गरिने दुव्र्यवहारको सिकार महिला हुने गरेका छन् ।
सविता श्रेष्ठ
काठमाडौं स्युचाटार बस्ने कल्पना कार्की (नाम परिवर्तन)लाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । तस्बिर हेर्दा भलाद्मी लागेपछि उनले त्यसलाई स्वीकार गरिन् । हाई, हेल्लोमा सुरु भएको च्याटको सामान्य गफगाफ केही महिनापछि कल्पनालाई असहज लाग्न थाल्यो । फेसबुकसाथीले म्यासेन्जरमा गर्ने कुराकानी र त्यसका भाव अनेक अर्थ लाग्ने खालका हुन थाले । यसपछि उनले कुराकानी नै बन्द गरिदिइन् । रिप्लाई नदिँदा पनि निरन्तर म्यासेज आइराखेपछि कल्पनाले फेसबुकको त्यो साथीलाई ‘ब्लक’ (फेसबुकमार्फत सम्पर्क गर्न नसकिने) नै बनाइन् ।
कल्पनाले त समयमा नै ती साथीको मनोभाव बुझिन् र आफ्नो समस्या समाधान गरिन् । तर, सबै महिला उनीजस्तै आफ्नो समस्या समाधान गर्न सक्दैनन् । काठमाडौंकी रमा शाह (नाम परिवर्तन)को फेसबुक प्रोफाइल चिनजानकै केटा साथीले ह्याक गरेर अश्लील फोटो राखिदिए । आफ्नै एकाउन्टमा आफ्नै अनुहार भएको अश्लील फोटो देखेर अत्तालिएकी उनी समस्या समाधानका लागि महानगरीय अपराध महाशाखाको साइबर सेलमा उजुरी दिन पुगिन् । उजुरीलाई छानबिन गरेर सोलुखुम्बुका युवक पक्राउ गरेर महाशाखाले मुद्दा चलायो ।
यस्तै, फेक आईडी बनाएर त्यसैको आडमा युवतीलाई आफैँ उनीहरूकै अश्लील तस्बिर बनाएर म्यासेजमार्फत पठाउने काठमाडौंका अर्का युवाविरुद्ध पनि मुद्दा चलाइएको छ । फेक आईडी खोलेर छोराको अपहरण गर्छु भन्दै फेसबुक म्यासेन्जरबाट एक महिलालाई ‘ह्यारास’ गर्ने अर्का युवकका विरुद्धमा पनि मुद्दा चलाइएको महाशाखाको साइबर सेलका प्रमुख प्रहरी नायव उपरीक्षक पशुपति राय बताउँछन् ।
साइबर सेलमा न्यु मिडियाको प्रयोग गर्दा हुने अनलाइन ह्यारासमेन्टका यस्ता घटनाका उजुरी दिनहुँ आउने गर्छन् । पछिल्लो ६ महिनामा मात्रै सेलमा ५ सय ६० उजुरी परेका छन् । उजुरी पर्नेमा अधिकांश घटना दुव्र्यवहारका हुने गर्छन् । त्यसबाहेक ठगीका केही घटना हुने सेलका प्रमुख राय बताउँछन् ।
इन्टरनेटको प्रयोगबाट चलाउन सकिने, धेरैभन्दा धेरैको सहभागिता हुने मिडियालाई नै न्यु मिडिया भनिन्छ । यसले विशेषतः अनलाइन सञ्चारमाध्यम, ब्लग, विभिन्न साइट्स तथा फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट एप्स, बी च्याटलगायतका सामाजिक सञ्जाललाई जनाउँछ । कसैलाई दुःख र हीन महसुस बनाउन गरिने व्यवहारलाई दुव्र्यवहार भनिन्छ ।
महिलामा खासगरी रूप, रङ, लिङ्गलगायतका आधारमा यस्तो दुव्र्यवहार हुने गरेको छ । बढ्दो इन्टरनेटको प्रयोगसँगै न्यु मिडियामा च्याट तथा भिडियोमार्फत पनि महिलालाई दुव्र्यवहार हुने गरेको छ । अनलाइनमार्फत हुने यस्ता समस्या तथा कार्यलाई दुव्र्यवहारका नयाँ रूप मानिएको छ ।
सूचनाप्रविधिको विकास र बढ्दो प्रयोगले महिलाले दुव्र्यवहारका नयाँ–नयाँ रूपको सामना गर्नु परिरहेको छ । मोबाइल र सामाजिक सञ्जालको व्यापकताले अनेक फाइदासँगै विकृति पनि बढाएको छ । सांस्कृतिक समालोचक डा. अर्चना थापा पहिले–पहिले सिट्ठी बजाएर, सुसेली हालेर, गीतबाट जिस्क्याएर, छोएर गरिने दुव्र्यवहार अहिले फोन, इन्टरनेटलगायतका प्रविधिमा रूपान्तरण भएको बताउँछिन् । पहिलेजस्तो व्यक्तिको अगाडि तथा नजिक पुगेर नै दुव्र्यवहार गरिन्छ भन्ने छैन । कसैको अगाडि नपरी तथा परिचय लुकाएर गरिने दुव्र्यवहारका घटना इन्टरनेटमार्फत हुने गरेको छ ।
धेरैले चलाउने र सजिलै अरूलाई दुव्र्यवहार गर्न सकिने भएकाले फेसबुकलगायतका सामाजिक सञ्जालबाट धेरै महिला दुव्र्यवहारमा परेको साइबर सेलका प्रमुख राय बताउँछन् । सेलले फेसबुकको प्रोफाइल ह्याक गरेर अश्लील फोटो राख्ने, नक्कली आईडी बनाएर युवतीलाई सताउने, गालीबेइज्जती गर्नेलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । सेलमा पर्ने उजुरीमध्ये करिब ९० प्रतिशत उजुरी सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने गरेको उनले बताए । दुव्र्यवहारका ९० प्रतिशत उजुरीमा महिला नै पीडित हुने गरेका छन् । दुव्र्यवहारमा पनि यौनजन्य दुव्र्यवहारका घटनालाई गम्भीर मान्दै मुद्दा चलाइने गरिएको छ ।
सेलले आर्थिक वर्ष ०७२÷७३ मा परेका हाठ सय ३० उजुरीमा २३ वटामा मुद्दा चलाएको छ । जसमा यौनजन्य दुव्र्यवहारको मुद्दा १७ वटा रहेका छन् । ०७१÷७२ मा ३ सय ९ उजुरी परेकोमा ३१ वटा मुद्दा चलाउँदा दुव्र्यवहारका १८ मुद्दा थिए । ०७०÷७१ का ९८ उजुरीमा १६ वटाको मुद्दा चलाउँदा चारवटा यौनजन्य दुव्र्यवहारका थिए ।
‘पीईडब्लू’ रिसर्च सेन्टरले सन् २०१४ मा गरेको सर्भेमा अनलाइनको प्रयोग गर्नेमध्ये ४० प्रतिशत ह्यारासमेन्टमा पर्ने गरेको पाइएको छ । सर्भेमा अनलाइनबाट हुने दुव्र्यवहारमध्ये धेरैजसो सामाजिक सञ्जालबाट हुने गरेको छ । सेन्टरका अनुसार करिब ६६ प्रतिशत दुव्र्यवहार सामाजिक सञ्जालबाट हुने गरेको छ । अध्ययनका अनुसार १८ देखि २९ वर्ष समूहका धेरै दुव्र्यवहारमा पर्ने गरेका छन् ।
अनलाइनबाट हुने दुव्र्यवहारमा ५० प्रतिशत महिला नाम बिगारेर जिस्क्याउने, ३६ प्रतिशत नियतवश होच्याउने, २६ प्रतिशत अनलाइनमार्फत पछ्याउने, २५ प्रतिशत यौनजन्य दुव्र्यवहार, २३ प्रतिशतले शारीरिक धम्की र १८ प्रतिशतले निरन्तर दुव्र्यवहारको सामना गर्नुपरेको तथ्याङ्क सेन्टरको रहेको छ ।
समाजमा जिस्क्याउने, मानहानि गर्ने खालका दुव्र्यवहारलाई सामान्य ठान्ने चलन रहेको मनोविद् डा. गंगा पाठक बताउँछिन् । तर, यस्ता दुव्र्यवहारले मानसिक पीडासमेत हुने गरेको छ । समयमा नै समस्या समाधान नहुँदा गम्भीर खालका मनोरोग पनि निम्त्याउन सक्छ । प्लस टु पढ्दै गरेकी किशोरीको पढाइमा ध्यान केन्द्रित नहुने, एक्लै बस्न रुचाउने भएपछि अभिभावक डा. पाठककोमा परामर्श लिन पुगेका थिए । किशोरीको समस्या केलाउँदै गर्दा सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा आएको कमेन्टमा प्रयोग गरिएका शब्दले उनी मानसिक रूपमा प्रभावित भएको उनले पाइन् ।
दुव्र्यवहारमा पर्दा गरेको काम रचनात्मक हुनु त टाढाको कुरा, बारम्बार बिग्रने, समयमा नसक्ने, नतिजामुखी नहुने हुन्छ । काम बिग्रेपछि पाइने अपजसले मनमा सङ्कोच, छटपटी र तनाव हुनु स्वाभाविकै हो । त्यो अवस्थामा धेरैजसोले विकल्प खोज्छन्, त्यो नपाए पलायनको बाटो रोज्ने मनोविद् डा. पाठक बताउँछिन् । यसबाट महिलाको वृत्तिविकास पुरुषको जस्तो सहज हुँदैन । दुव्र्यवहार लुकाउने कोसिस गर्दा थप पीडा हुन सक्ने भएकाले यसविरुद्ध तत्काल आवाज उठाउनुपर्ने पाठकको सुझाव छ ।
दुव्र्यवहार गर्नेलाई विद्युतीय कारोबार ऐनमार्फत दण्डित गर्न सकिन्छ । यौनजन्य आशयले गरिएको दुव्र्यवहारलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत कारबाही गर्न कानुन पनि छ । जुनसुकै किसिमका दुव्र्यवहारविरुद्ध कारबाहीको कानुनी ग्यारेन्टी भए पनि उजुरी दर भने न्यून छ ।
महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिकी सदस्य बन्दना राणा ऐन–नियमबारे जानकारी नै नभएका कारण कम उजुरी पर्ने गरेको बताउँछिन् । ‘विकसित देशहरूमा यस्ता दुव्र्यवहारबारे खुला छलफल र प्रतिकार गरिन्छ,’ उनी भन्छिन्, ‘नेपालजस्ता विकासोन्मुख देशमा पीडित नै खुलेर आउन सक्दैनन् ।’ (संचारिका फिचर सेवा)