मंगलबारदेखि एसाइलम वर्क परमिटमा कडाई, फर्म पनि नयाँ
प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार
अमेरिकामा आगामी मंगलबारदेखि एसाइलमको वर्क परमिटमा कडाई गरिने भएको छ । मंगलबारदेखि लागु हुने गरी युएससीआईएसले वर्क परमिटको फर्ममा पनि परिवर्तन ल्याउन लागेको छ ।
नयाँ फर्ममा पेन्डिङ एसाइलमका सन्दर्भमा अतिरिक्त प्रश्नहरु समेत थप गरिएको युएससीआईएसले जनाएको छ । युएससीआईएसले अगस्त २५ वा त्यो भन्दा पछाडिको मितिमा पोष्टमार्क गरिएका पुराना फर्महरु स्वीकार नगर्ने भएको छ ।
प्रारम्भिक आवेदन वा नविकरण दुबैका सन्दर्भमा नयाँ फर्म र नयाँ नियम लागु हुने भएको छ । अगस्त २५ भन्दा अगाडि पोष्टमार्क गरिएका आवेदनको सन्दर्भमा भने सन् २०१९ डिसेम्बर २६ को फर्मको संस्करण प्रयोग गर्न सकिनेछ । तर अगस्त २५ र त्यसपछिका लागि भने सन् २०२० को अगस्त २५ को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ ।
युएससीआईएसले वर्क परमिटका सन्दर्भमा अक्टोबर २ पछि नयाँ शुल्क लागु गर्न लागेको छ । अक्टोबर २ भन्दा अगाडि वर्क परमिटको आवेदन शुल्क ४१० डलरमात्र तिरे पुग्नेछ । तर अक्टोबर २ पछि भने ५५० डलर तिर्नुपर्नेछ ।
अगस्त २५ बाट लागु हुने नयाँ नियम अनुशार अब वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा भएको हुनुपर्नेछ । अहिलेसम्म एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।
नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था गरिएको छ ।
त्यस्तै नयाँ नियममा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने उल्लेख छ । त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने समेत नयाँ नियममा उल्लेख छ ।
त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिने भएको छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको थियो ।
अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य नहुने नियममा जनाइएको छ भने अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।
त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिने छैन ।
यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत उल्लेख छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने नियममा उल्लेख गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।
नियममा एसाइलमको आवेदन प्रकृया र अन्तरवार्ताका सन्दर्भमा पनि परिवर्तन गरिएको छ । त्यस्तै वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने नियममा उल्लेख छ ।