नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, १७५ संक्रमित डिस्चार्ज
प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् ।
मुलुकभर १३ हजार ७१५ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १० हजार २३४ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार २७५ रहेका छन् । होम आइशोलेशनमा ४ हजार ५६१ जना रहेका छन् ।
उपत्यकामा आज भेटिए हालसम्मकै धेरै कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
काठमाडौँकी एक महिलासहित कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय पुरुष, महोत्तरीका एक ६५ वर्षिय पुरुष, पर्साकी एक ७० वर्षिया महिला, काठमाडौँकी एक ४८ वर्षिया महिला, रुपन्देहीकी एक ६७ वर्षिय महिला, ३८, ५३ र ५४ वर्षिय पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।